साधना पन्त, काठेखोला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्धारा काठेखोला गाउँपालिकामा गठित मानव अधिकार समुहले समान ज्यालाको प्रभावकारी कार्यन्वयनमा जोड दिन गाउँपालिकालाई आग्रह गरेको छ ।
काठेखोला गाउँपालिकामा आयोजना गरिएको ‘आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सवालमा मानव अधिकारको अवस्था’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले अझै पनि गाउँपालिकामा महिला र पुरुषको विचमा असमान ज्याला कायम रहेको गुनासो गरेका थिए ।
मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तनमा समस्या देखिएको भन्दै उनीहरुले गाउपालिकाले समान कामको समान ज्याला निर्धारण गर्न माग गरेका थिए । मानव अधिकार समुहका संयोजक भेषकुमारी भण्डारीले महिलाले पुरूष सरह काम गरे पनि पुरूषको तुलनामा महिलाको पारिश्रमिक आधा मात्रै भएको बताउनुभयो । उहाँले अब लैङ्गिक आधारमा गरिने बिभेदको स्वरुप ज्यालामा पनि देखिने गरेको भन्दै समान ज्याला कायम हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका भित्र रहेका किराना पसलहरूको अनुगमन नहुदाँ अखाद्य बस्तुको बिक्री वितरण भइरहेको र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड भइरहेको भन्दै ध्यानाकषण गराइएको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्रीले मानव अधिकार समुहले उठान गरेको असमान ज्याला र बजार अनुगमनको बिषय गम्भिर भएकाले गाउँपालिकाले तत्काल यथोचित कदम चाल्ने बताउनुभयो । उहाँले गाउपालिकालाई मानवअधिकारमैत्री बनाउनका लागि मानव अधिकार समूह सँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । खत्रीले गाउँपालिकामा बालविवाह न्यूनिकरणका लागि मानवअधिकार समूहसँग मिलेर जनचेतनामूलक कार्यक्रम गर्ने पनि उद्घोष गर्नुभयो ।
गाउँपालिकाका जनप्रतिनिधी, मानवअधिकार समुहका सदस्य, कर्मचारी लगायतको उपस्थितिमा भएको कार्यक्रममा पूर्व महिला विकास अधिकृत तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले महिला तथा बालबालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको बिषयमा जानकारी गराउँदै यो समस्या समाधानका लागि सेवा केन्द्र आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै काँठेखोला गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति पुर्णप्रसाद ढुङ्गानाले शिक्षा र स्वास्थ्य प्रमुख रामचन्द्र लामाले स्वास्थ्य सेवा प्रवाहका बारेमा जानकारी दिनुभयो । कार्यक्रम काठेखोला गाउँपालिका मानवअधिकार समुहका संयोजक भेषकुमारी भण्डारीको अध्यक्ष्यता र इन्सेक बागलुङका सहजकर्ता साधान पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठेखोलामा महिला पुरूषको समान ज्याला निर्धारण गर्न माग
