गण्डकी प्रदेशमा माघ १ मा सार्वजनिक बिदा

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेश सरकारले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले आउँदो माघ १ गते बिदा दिने निर्णय भएको जानकारी दिए ।

यस पर्वलाई थारु समुदायले नयाँ वर्ष मान्ने गर्छन् भने मगर समुदायले पनि धुमधामका साथ मनाउने गर्छन् । गएको वर्ष पनि माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिइएको थियो । माघे सक्रान्ति बिदा दिने निर्णय गरिएको भएपनि पुष २७ गते पृथ्वी जयन्तीका दिन बिदा छैन । यसअघि प्रदेश सरकारले पुष १५ गते तमु ल्होसारको दिन बिदा दिएको थियो ।

माघे सक्रान्तिका दिन कास्कीसहित प्रदेशका विभिन्न जिल्लामा मेला लाग्ने गर्दछ । माघे संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ ।

यस्तै मन्त्रीपरिषदले कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले बताए । बिहीबारको बैठकले प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे संचालनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति, प्रदेश दुग्ध विकास बोर्डको सदस्य सचिव नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यस्तै गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृति गरी प्रदेशसभामा पेस गर्नेबारे स्वीकृति सो बैठकले दिएको छ । व्यवसाय इन्कुवेशन सेन्टर स्थापना तथा संचालन गर्ने निर्णय पनि भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *