जैमिनी अन्तरक्रिया:‘शिक्षक,बिद्यार्थी, अभिभावक सबैमा असल सँस्कार’

आदर्श अनलाइन, जैमिनी

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न बिद्यार्थी, शिक्षक र अभिभावक सबैमा यथोचित सम्मान र समन्वयको असल सँस्कार आवश्यक रहेकोमा बागलुङको जैमिनीमा आयोजित कार्यक्रममा सहभागीले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जैमिनी नगरपालिका स्थित शान्ती माध्यमिक विद्यालय कुश्मिशेरामा गठित बाल अधिकार चेतना समुहले शुक्रबार विद्यालयमा आयोजना गरेका शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र बिद्यार्थी बीच अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।

बिद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन पनि शिक्षक र अभिभावक पहिले आफु सु–सँस्कारित रुपमा प्रस्तुत हुनुपर्नेमा सहभागीको जोड थियो । संस्थागत बिद्यालयमा प्रयाप्त तालिम र लगानी बिना पनि उत्कृष्ट नतिजा आउने तर सामुदायिक विद्यालयमा उल्लेख्य लगानी र शिक्षकहरुलाई दर्जनौ तालिम दिँदा पनि शैक्षिक गुणस्तरमा समस्या देखिनु बिडम्बनापूर्ण भएको उनीहरुको भनाई थियो ।

बाल अधिकार चेतना समूहले यस बिषयमा बिद्यालयका प्रधानाध्यापक यामबहादुर जिसी मार्फत ध्यानाकर्षण समेत गराएको छ । समुहकी अध्यक्ष मेलिना चापागाईले अनुशासन र सँस्कार सिक्ने ठाउँ विद्यालय भन्दा पहिले घर भएकाले शिक्षकका साथै अभिभावकले पनि आफ्ना सन्तान र सेरोफेरोका बालबालिकालाई सोही किसिमको व्यवहार सिकाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो विद्यालयमा मात्र नभएर नगरका सबै विद्यालयले विद्यार्थी, शिक्षक र साथीहरु बीच प्रयोग गर्ने सम्बोधनमा सुधार ल्याएर असल सँस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । ‘घरमा अभिभावकले त भन्ने, विद्यालयमा शिक्षकले त भन्ने, साथीले साथीलाई त भन्ने ? अनि हामीलाई सँस्कार सिकेन भन्ने गुनासो छ,’ उहाँले भन्नुभयो, ‘यो सामान्य लाग्छ, तर व्यवहारिक रुपमा सँस्कार सिकाउने सवालमा गम्भिर बिषय हो, हामी सबैले तपाई, हजुर भन्ने अभ्यास गर्नुपर्छ ।’

जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आर्चायले विद्यालयमा नैतिक र समावेशी शिक्षाको आवश्यकता औंल्याउनुभयो । विद्यार्थी, बिद्यालयका व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरु सबैको साझा प्रयत्नबाट मात्र गुणस्तरिय शिक्षा सम्भव रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र आर्चाय र विद्यालयका प्रधानध्यापक याम बहादुर जिसीले शैक्षिक गुणस्तर, बिद्यार्थी अनुशासन र अरु सरोकारवालाको भुमिकाका बिषयमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शान्ति माध्यामिक विद्यालयका मानव अधिकार चेतना समुहका संयोजक मेलिना चापागाइको अध्यक्षयतामा भएको कार्यक्रममा सदस्य साधना पौडेलको स्वागत मन्तव्य र सदस्य मिलन थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *