उपल्लाचौरमा काउली चोरीको आरोपमा बाबु छोरा पक्राउ

फाइल तस्विर

आदर्श अनलाइन,बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले चोरीमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा बस्दै आएका बिष्णुबहादुर कार्की भनिने टेकबहादुर कार्की र उहाँका छोरा बिनोद कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

केही समय देखि निरन्तर रुपमा छिमेकीका घरबाट पाईप, मार्वल, इट्टा, बारीमा लगाएका तरकारी, घर बनाउदा प्रयोग हुने मोटर लगायतका थुप्रै सामाग्री चोरी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले बताउनुभयो । बागलुङ नगरपालिका–७ तितौरे स्थायी ठेगाना भएका कार्कीको बागलुङ नगरपालिका–४ उपल्लाचौरमा साढे ४ तले पक्की घर छ । उपल्लाचौरका स्थानीयबासीले दैनिक घरबाटै चोरी हुन थालेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले कार्कीले शुक्रबार राती अर्काको बारीमा टिप्दै गरेका केही काउली सहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष नवराज भट्टले जानकारी दिनुभयो । त्यसपछि शनिबार प्रहरीले कार्कीको घरमा खानतलासी गर्दा टोलमा हराइएको भनिएको मार्वल, पाइप, टायल लगायतका सामाग्री समेत बरामद गरेको छ । ‘स्थानीयले चोरीका घटना भइरहे पछि पटक पटक चोरी गर्नेको खोजी गरिरहेका थिए,’ प्रहरी उपरिक्षक भट्टले भन्नुभयो,‘स्थानीयको व्यापक गुनासो पछि छड्के चेकजाँचका लागि प्रहरी परिचालन गरेका थियौ, अन्ततः हाम्रो टोली सफल भयो ।’

टेकबहादुर कार्कीका छोरा बिनोद कार्की पनि केही समय पहिले अर्काको घरबाट एक बोरा सिमेन्ट सहित स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । विनोदलाई माफी मगाएर छाडिएको थियो । निरन्तर केही समय देखि बाबुछोरा नै चोरीका घटनामा संलग्न देखिएकाले सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *