निसीको एक अनौठो तर रोमाञ्चक मेला

दिल शिरीष, बागलुङ

अधिकांश मेला महोत्सवमा अश्लिल शव्द बोल्यो की प्रहरीले खोरमा लैजान्छ । अश्लिल र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठुलै संख्यामा प्रहरी र स्वयम्सेवक खटाउछ । तर, जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाको वडा नम्बर ६ भल्कोट गाउँमा बर्षेनी एक अनौठो मेला लाग्छ ।

जुन मेलामा जसलाई यौन सम्बन्धि जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ । युवादेखि बुढापाका पनि अरु बेला गाउँ समाजमा अपाच्य हुने शव्द बोल्दै गाउँ डुल्छन् । मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरुपमा जिवित छ । यसरी छाडा रुपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए । ‘यो हाम्रो पुर्खज देखि चल्दै आएको चलन हो,’ थापाले भने,‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला बर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउसो ४ बजेदेखि ३ गते अपरान्ह ४ बजे (२४ घण्टा) पुतली नसेलाए सम्म अश्लिल शव्द बोल्न छुट हुन्छ ।’

परिवार, आफन्त, गाउँ समाजका महिलाहरु पनि मेलामा सरिक हुन्छन् । सुन्नै अप्ठ्यारो लाग्ने यौन सम्बन्धि शव्द बाजातालमा ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन् । कोही गाउछन्, कोही तरुनी नजिक गएर कोट्याउछन् र नाँच्छन् । तर, स्थानीय महिलाहरुमा कत्ति अप्ठ्यारो र हिच्किचाहट देखिदैन । यस्तो लाग्छ की स्थानीय युवति, महिलाहरुले यसलाई आफ्नो सँस्कारको रुपमा पचाइसकेका छन् । पहिलो पटक बाहिरबाट गएका महिला, पुरुषहरु भने दुवै रातो पिरो हुन्छन्, जिब्रो तोक्छन्,लाजले मुख छोप्छन् । यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पा लगायतका स्थानबाट पनि मानिसहरु ठुलो संख्यामा आउँछन् ।

किन बोल्छन् त अश्लिल ? स्थानीय अगुवा नैनसिहं बुढा मगर भन्छन्,‘यसको कथा पुराना बिरमाना राजा रानीसँग जोडिएको छ । यो पुर्खाले गरेको कुरा हो । हामी यसलाई पुरानो जे चलिआएको छ, त्यसलाई नछोडी निरन्तर मेला मनाउदै आएका छौ ।’ मेलामा राजा बिरमानको सैन्य प्रतिकको रुपमा पुतली नाँच नचाइने गरिन्छ । राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घर परिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनाली समेत राम्रो हुने जनबिश्वास छ । त्यही नाँचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुशियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अश्लिल बोल्ने बिषय जोडिएको हुन सक्ने बुढाले बताए ।

अब त अश्लिलता हटाउने की भन्ने प्रश्नमा निसीखोला वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष हेमबहादुर बुढा मगरले परम्परा नतोड्ने बताए । ‘हामीले पनि अहिलेको समाजमा यो अलि अस्वभाविक भयो, हटाउने की भन्ने हिसावले छलफल ग¥यौ,’ बुढाले भने, ‘गाउँले आफ्नो पुर्खजहरुले चलाएको रितिथिती, सँस्कार हो, यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने भन्ने निष्कर्ष निकालियो । अब यसकै संरक्षण सम्र्वद्धन गरेर अघि बढ्ने सोचमा हामी छौ ।’
पुतली नाच अंग्रेजहरुसँग लडाई जितेपछि विजयी उत्सव मनाउने क्रमबाट थालिएको स्थानीयको भनाई छ । राजा रानीको मुर्ति जस्तै माटोको पुतली बनाईने, पुतलीको स्वरुपमा रंगीविरंगी भेषभुषामा पुतली बनेर पुराना जमानामा हुने शैन्य शैलीको हातमा तरवार, भाला, खुँडा लिएर ढाल सहित नाँच्ने गरिन्छ ।

बागलुङको निसी भल्कोटमा पुतली नाँच देखाउदै स्थानीय ।


माघ तीन गतेको दिन पुतलीलाई डोलामा बोकीन्छ र कापैसँग डुलाइन्छ । भल्कोट गाउँभन्दा केही माथि रहेको एउटा बारीमा पुगी कापैसँगै पुतलीलाई घुमान्छ, र पुतली जस्तै बनेका मान्छेहरु हातमा तरवार, लठ्ठी लिएर नाच्ने गर्छन् । साझँपख मुल कापैसँग डोलामा बोकेको पुतलीलाई नदि किनारमा लगेर बिसर्जन गरिन्छ । पुतली बिसजर्न गरेपछि स्थानीयहरुले आफ्ना आफन्तहरुलाई घरमा लगि तरुल, रोटी लगायत मिठा परिकार खुवाउने गर्दछन् । लामो समय खडेरी परेको समयमा पनि पुतली नचाएपछि पानी पर्ने गरेको स्थानीय बताउँछन् । ।

यो नाँच सँग जोडिएको अर्को रोचक पाटो हो भालुको पित्त देखाउने । पुतली नाच र कापैसँगै सांकेतिक रुपमा गाउँलेले भालुको पित्त देखाउने गर्दछन् । यो देख्दा जो कोहीलाई आश्चर्य लाग्छ । एक जना मानिसलाई घुम (भेँडाको उनबाट बनाइएको कपडा)ले बेरिन्छ । उसलाई खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । जसलाई भालु भनिन्छ । ती व्यक्तिलाई धेरै रक्सी खुवाएर लठ्ठ बनाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ । केही बेरमा मान्छेको भिडमा लगेर भालु आयो भन्दै उसको गुप्ताङ्ग सबै माझ देखाई दिने र खरानी, माटो हाल्दिने गर्दछन् । जसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *