बरेङमा सुत्केरी महिलालाई पोषिलो झोला

केशबराज क्षेत्री, बरेङ

जिल्लाको बरेङ गाउँपालिकाले गर्भवति र सुत्केरी महिलाका लागि नयाँ कार्यक्रम शुरु गरेको छ ।

गाउँपालिकाले गर्भवति महिलाका लागि पोषिलो झोला र नवजात शिुशका लागि उज्यालो भविष्य बाल बचत कार्यक्रम शुरु गरेको हो ।

गाउँपालिकाको ५ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाई मार्फत यो कार्यक्रम शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकामा पहिलो पटक गर्भवति जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ । पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मुला, धनिया, सिमी, बोडीको बिउ राखिने गरेको छ । नियमित गर्भजाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खाने लगायतका परामर्श समेत यस अवसरमा दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले बताउनुभयो ।

पोषिलो झोलासँगै पालिकाले उज्यालो भविष्य बाल बचत कार्यक्रम समेत सञ्चालन गरेको छ । सुत्केरी महिलाले स्वास्थ्य संस्थामा नियमित ४ पटक नियमानुसार चेकजाँच गराएमा, संस्थागत सुत्केरी भएमा र ३५ दिन भित्र बच्चाको जन्मदर्ता बनाएमा उज्यालो भविष्य बालबचत कार्यक्रममा समावेश हुन पाउने व्यवस्था गरेको छ । उज्यालो भविष्य बालबचत कार्यक्रम अन्र्तगत छोरा जन्मेमा पालिकाले एक पटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ भने छोरी जन्मेमा हरेक महिना एक सयका दरले २० वर्ष सम्म बालिकाको खातामा रकम जम्मा गरिदिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

उक्त सुविधा पाउनका लागि बच्चाको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्ष सम्मनै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदासम्म आठ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । थापाले छोरा छोरी जुन जन्मे पनि दुई बच्चाका लागि मात्र सोही सुविधा लागु हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने उहाँको भनाई छ । आउँदो चैत्र महिना भित्र सुत्केरी महिला २० वर्ष उमेर भन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्ष देखि बच्चाको आमा पनि २० वर्ष पुग्नुपर्ने नियम गाउँपालिकाले बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *