आदर्श अनलाइन,बागलुङ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ ।
बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले बुधबार विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिवद्धता जनाउनुभएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधि लगायतको रोहबरमा सापकोटाले आत्मसर्मपण गर्नुभएको हो ।
सापकोटाले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा ‘नेपालको संविधान, कानून विपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु’ भन्ने उल्लेख छ । राज्य विरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।
पार्टी परित्यागको घोषणापछि सापकोटाले अबदेखि स्वतन्त्र नागरिकको हैसियतमा व्यवसाय गरी बस्ने बताउनुभयो । आत्मसर्मपणसँगै सापकोटा रु. दश हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिनुभयो । “अहिले तारेखमा रिहा हुनुभएको छ, प्रतिवद्धता विपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उहाँले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भन्नुभयो । रिहापछि पनि विप्लव समूहका कृयाकलापमा संलग्न रहेको देखिएमा कानून बमोजिम कारवाही हुने उहाँको भनाइ छ ।