बरेङ गाउँपालिकाको घोषणा: छोरी जन्मे २० बर्ष मासिक बचत

तस्विरः उज्यालो भविष्य कार्यक्रममा समावेश हुन आएका स्थानीय गर्भवति र आमाहरु ।

दिल शिरीष,बागलुङ

जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने बिभेद, सुरक्षित प्रसुति र उज्वल भविष्यका लागि नयाँ कार्यक्रमको घोषणा गरेको छ ।

गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेकाले यसलाई परिवर्तन गर्न उज्यालो भविष्य बाल बचत कार्यक्रम सञ्चालन गरेको छ ।

यो कार्यक्रम अन्र्तगत छोरी जन्मेमा हरेक महिना एक सयका दरले २० वर्ष सम्म बालिकाको खातामा रकम जम्मा गरिदिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । छोरा जन्मेमा भने एक पटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाले केही शर्त भने राखेको छ । गर्भवति महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चार पटक स्वास्थ्य परिक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिन भित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने छ । ‘यो सानो शुरुवात हो, हेर्दा र सुन्दा पनि सामान्य लाग्न सक्छ,’ अध्यक्ष पौडेलले भने,‘तर यो कार्यक्रमले सुरक्षित प्रसुतिदेखि बाल बिवाह रोक्न, छोरीहरुको पठन पाठन र उज्वल भविष्य बनाउन बहुआयामिक भुमिका खेल्ने अपेक्षा छ ।’

उक्त सुविधा पाउनका लागि बच्चाको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्ष सम्मनै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदा सम्म आठ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागि मात्र सोही सुविधा लागु हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।

आउँदो चैत्र महिना भित्र सुत्केरी महिला २० वर्ष उमेर भन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्ष देखि बच्चाको आमा पनि २० वर्ष पुग्नुपर्ने नियम गाउँपालिकाले बनाएको छ ।

यो कार्यक्रमसँगै गाउँपालिकाले गर्भवति महिलाका लागि पनि पोषिलो झोला कार्यक्रम ल्याएको छ । गाउँपालिकाको ५ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाई मार्फत यो कार्यक्रम शुरु गरेको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए । उनका अनुसार, गाउँपालिकामा पहिलो पटक गर्भवति जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ । पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मुला, धनिया, सिमी, बोडीको बिउ राखिने गरेको छ । नियमित गर्भजाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खाने लगायतका परामर्श समेत यस अवसरमा दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *