म्याग्दीमा अन्नपूर्ण पर्यटन महोत्सव हुने

कमल खत्री, बेनी

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० को अवसरमा यही माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेसीगाउमा पर्यटन महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुंगा, खोप्रा, तातोपानी लगायत गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको आगमन बढाउने लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रवर्द्धनात्मक कार्यहरुलाई संगसंगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए ।
सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचार प्रसार र सञ्चालनका लागी नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउपालिकाको नारच्याङ्गदेखि विश्वकौ दसौ र नेपालको नवौ ९आठ हजार ९१ मिटर० अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्गलाई सञ्चालनमा सघाउने उदेश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उप–समितिका संयोजक कृष्णप्रसाद बरुवालले बताए । महोत्सवलाई सफल बनाउन अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सवको तयारीलाई तिब्र बनाइएको उनले जानकारी दिए ।

स्थानीय अन्नपूर्ण युवा क्लवको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ । महोत्सवसंगै वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए ।

ती सबै प्रतियोगितामा गाउपालिकाका ८ वटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *