पत्रकार महासंघ शुद्धिकरणः १७ पत्रकार हट्ने, २५ घट्ने !

पुराना ६ पत्रकारलाई मानार्थ सदस्य

आदर्श अनलाइन,बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियानलाई तिव्र बनाएको छ ।

शुद्विकरण अभियान अन्र्तगत शाखाले राजनीतिक दलका पदाधिकारी, निजामति कर्मचारी, जनप्रतिनिधि र निस्क्रिय रहेका १७ जनालाई साधारण सदस्यबाट हटाएको छ भने विदेशमा रहेका २५ जना सदस्यको जिल्लामा नविकरण नगरी सम्बन्धित देश र कार्यक्षेत्रमै पठाउने निर्णय लिएको छ ।

महासंघले दोस्रो चरणमा, जिल्लाका पुराना तर हाल निस्क्रिय रहेका ६ जना पत्रकारलाई हटाएको छ । शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा मंगलबार बसेको बैठकले पत्रकार महासंघले निर्दिष्ट गरेको व्यवस्था अनुसार उनीहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापाले जानकारी दिनुभयो । २० बर्ष पत्रकारिता गरेका या पत्रकार महासंघको संस्थागत विकासमा भुमिका खेलेकाहरुलाई मानार्थ सदस्य बनाउने नयाँ व्यवस्था गरिएको छ । मानार्थ सदस्यको महासंघ चुनावमा मताधिकार भने हुने छैन ।

सचिव थापाका अनुसार, नेपाल पत्रकार महासंघका तत्कालिन धौलागिरी शाखाका सचिव हिराबहादुर केसी, श्रीप्रसाद शर्मा, बिश्वनाथ रेग्मी, पद्मनाथ शर्मा, निरञ्जनलाल राजभण्डारी र टेकबहादुर क्षत्रीलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।

शाखाले शुद्धिकरण अभियान अन्र्तगत पहिलो चरणमा, शाखाका सदस्य रहेका तीन जना निर्वाचित जनप्रतिनिधि, चार जना निजामति कर्मचारी र राजनीतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका तीन जना पदाधिकारीको सदस्यता खारेजीका लागि प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो । यसका साथै शाखाको साधारण सदस्य रहेर हाल बिदेशमा रहेका २५ जनाको पनि नविकरण नगर्ने निर्णय गरेको थियो । यदी सम्बन्धित देशमै क्रियाशिल रहेमा स्थान्तरणका लागि सिफारिस भने शाखाले गर्ने महासंघका अध्यक्ष दिल शिरीषले बताउनुभयो । ‘पत्रकार महासंघलाई सशक्त र जिल्लाको पत्रकारितालाई थप सशक्त र मर्यादित बनाउन शुद्धिकरण जरुर छ,’ अध्यक्ष शिरीषले भन्नुभयो,‘अहिलेको अभियानले बर्षौ देखि निस्क्रिय भएकाहरुलाई सक्रिय बन्न बनाउन भुमिका खेल्नेछ । यो त्यसको शुरुवात र सुखद संकेतको रुपमा बुझिनुपर्छ ।’ महासंघको सदस्य संख्यामा अझै ठुलो संख्यामा समस्या र व्यथिति रहेकाले अब शुद्धिकरण अभियानलाई निरन्तर अघि बढाइने उहाँले बताउनुभयो ।

पत्रकार महासंघ बागलुङ शाखामा अहिले १ सय ८२ सदस्य आवद्ध छन् । तर, शुद्धिकरण अभियानका कारण अब शाखामा जम्मा १ सय ४० जना मात्र रहनेछन् । जिल्लामा हाल क्रियाशिल रहेका पत्रकारहरुलाई नयाँ सदस्यताका लागि आवेदन दिएका २९ जना मध्ये १९ जनाको नाम प्रदेशमा सिफारिस गर्ने निर्णय समेत गरिएको छ । अघिल्लो कार्यकालमा शाखाका तर्फबाट ३४ जनाको नाम नयाँ सदस्यताका लागी सिफारिस भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *