धौलागिरी क्याम्पस बार्षिकोत्सव: बागलुङ शैक्षिक हब-प्रदेश सभामुख

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सभाका सभामुख नेत्र अधिकारीले बागलुङ शैक्षिक हब बन्ने बताउनु भएको छ ।

धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ५७ औँ बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै सभामुख अधिकारीले शैक्षिक हिसाबले बागलुङमा पुर्वाधार र अरु विकास भइरहेकाले धेरै विद्यार्थीलाई बागलुङमा आकर्षित गर्न सकिने बताउनुभयो ।

सभामुख अधिकारीले शिक्षा बिना विकास असम्भव रहेको भन्दै सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको दाबी गर्नुभयो । परम्परागत शिक्षा पद्धतीलाई बदलेर जीवन उपयोगी सीप सहितको शिक्षाको जरुरी रहेको हुँदा सरकारले आधुनिक, वैज्ञानिक र व्यवहारिक शिक्षा सम्बन्धी पाठ्यक्रम बनाउने उहाँको भनाई छ ।

साविक धौलागिरी अञ्चलको पहिचानको रुपमा धौलागिरी क्याम्पस स्थापित हुने भन्दै यसको विकासका लागि गण्डकी प्रदेश सरकारले आवश्यक सहयोग र पहल थाल्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले शिक्षालाई गुणस्तरिय बनाउन सबैभन्दा पहिले क्याम्पसको शैक्षिक, आर्थिक र भौतिक पक्ष सवल हुनुपर्नेमा जोड दिनुभयो । धौलागिरी क्याम्पसलाई गण्डकी प्रदेशकै नमुना बनाउन सबैले हातेमालो गरेर जुट्नु पर्ने भन्दै क्याम्पसमा भएका समस्या समाधानको लागि आफू सदैव तत्पर रहेको उहाँको भनाई थियो ।

बार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बिजयी हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ । क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अवकास भएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान पनि सोही अवसरमा गरिएको थियो ।

कार्यक्रमको अवसरका क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले धौलागिरी क्याम्पसले व्यवस्थापन र शिक्षाशास्त्रमा देशभरमै उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट क्याम्पसको रुपमा पहिचान बनाएको बताउनुभयो । सिमित स्रोत साधनका कारण अझै पनि प्राध्यापकहरुलाई तालिम, समय सापेक्ष खोज अनुसन्धानमुलक शिक्षण, युवाहरुको बढ्दो विदेश मोह अहिले गम्भिर समस्या र चुनौतिको रुपमा देखिएकाले यसको समाधानका लागि सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेल, सह–प्राध्यापक डा.दिनबहादुर थापा, कर्मचारी संघका अध्यक्ष शिव पाध्या, स्ववियू सभापति मनिष थापा, पूर्व स्ववियू सभापति हिरा केसी, नेपाल पत्रकार महासंघ बागलुङकी सल्लाहकार कोपिला कँडेल, अनेरास्ववियूका सुरेश रेग्मी, नेपाल बिद्यार्थी संघका दिनेश पन्त, अखिल छैठौँका दिलिप बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षता, विद्यार्थी कल्याण प्रमुख जोन बज्राचार्यको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *