रेडक्रस बागलुङको सभापतिमा तेस्रो पटक लामिछाने,अर्को पक्षको आपत्ति

आदर्श अनलाइन,बागलुङ

पवित्र सामाजिक संस्थाको रुपमा स्थापित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको नेतृत्व चयन बिवादित बनेको छ ।

नयाँ नेतृत्व चयनका लागि बिहिवार भएको शाखाको ३० औं अधिवेशनमा एक पक्षले निर्विरोध नेतृत्व चयनको घोषणा गरेको छ भने अर्को पक्षले रेडक्रसको प्रक्रिया विपरित एक पक्षीय रुपमा नेतृत्व घोषणा गरेको आरोप लगाएको छ ।

आरोप प्रत्यारोपका बीच दुई कार्यकाल पुरा गर्नुभएका निवर्तमान सभापति जब्बरबहादुर लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । यसमा प्रजातान्त्रिक विचारमा आस्था राख्नेहरु एकढिक्का देखिएका छन् । प्रगतिशिल विचारमा आस्था राख्नेहरुले भने अधिवेशनका प्रतिनिधिहरुको नाम अनुमोदन लगायत विषयमा सुनुवाई नगरी एक पक्षीय ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाई कार्यसमिति घोषणा गरिएको भन्दै आपत्ती प्रकट गरेका छन् ।

माघ २८ गतेदेखि बागलुङ बजारमा जारी अधिवेशनमा जिल्ला शाखाको वैठकबाट प्रतिधिनीलाई अनुमोदन नगराई निर्वाचन प्रक्रिया अगाडी बढाईएको, प्रतिनिधिको नाम पटक–पटक परिर्वतन गरिएको, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा गम्भिर प्रश्न उठेको तर पास नभएको अवस्थामा ध्यानकर्षण गराउदा समेत एकपक्षिय ढंगले अधिवेशन गरिएको भन्दैं १ सय जना भन्दा बढी प्रतिनिधिहरुले विरोध जनाएका छन् । विज्ञप्तीमा विभिन्न शाखाबाट सिफारिस नभएका व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिएको, मालिका उपशाखा, बा.न.पा–४ उपशाखा, बाटाकाचौर उपशाखा सिफारिस भएर आएका व्यक्तिको नाम परिर्वतन गरिएको, जिल्ला शाखाको कुनै पनि वैठकमा छलफल नभई व्यक्तिगत आधारमा नाम टिपाएका व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिएको, २९ औं साधारणसभामा तंङग्राम लगाएतका उपशाखाबाट आएका नाम ३० औं अधिवेशनमा जस्ताको तस्तै समावेश गरिएको उल्लेख गरिएको छ ।

अधिवेशनका प्रतिनिधिहरुको विषयमा छानविन गर्न निर्वाचन अधिकृतलाई गरिएको अनुरोध अनुसार पटक पटक निर्वाचन कार्यक्रम सारिए पनि उक्त विषयमा नेतृत्वमा रहेको पक्षले छलफल नगरी पद बाँडफाँडमा केन्द्रीत भएको तथा असन्तुष्ट पक्षलाई अलमल्याएर एकलौटी गर्ने तरिकाले अगाडि बढेको विज्ञप्ती मार्फत जनाइएको छ । पछिल्लो समय रेडक्रसमा समेत पार्टीगत रुपमा निर्वाचन हुने प्रचलन बढेको छ । बागलुङ रेडक्रसमो कांग्रेस समर्थकहरुको बहुमत भएपछि बामपन्थी समर्थकहरुलाई पेलेर अगाडि बढ्ने प्रक्रिया अनुरुप समस्या सिर्जना भएको अधिवेशनका एक प्रतिनिधिले बताए ।

एक समूहको असहमतिका बीच घोषणा गरिएको रेडक्रस शाखाको महिला उप–सभापतिमा उषा पौडेल, खुल्ला उप–सभापतिमा राजेन्द्र आचार्य, मन्त्रीमा विकास पौडेल, कोषाध्यक्षमा श्रीधर कंडेल, उप–मन्त्रीमा मेषलाल शर्मा, उप–कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा निविरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकारी सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो । शाखाको सदस्यहरुमा सिता शर्मा, मायाँकुमारी केसी मनकुमारी बुढाथोकी, सुमन भुषाल, विष्णुप्रसाद शर्मा, तेजप्रसाद शर्मा, ढालेन्द्रप्रसाद गौतम, लक्ष्मण खड्का, ताराबहादुर विश्वकर्मा र भुवानी प्रसाद कंडेल रहनुभएको छ । निर्वाचन अधिकृत ढकालले बिवादको बिषययमा जिल्लाले प्रमाणित गरेर पठाएका नाम नै केन्द्रले अनुमोदन गरेको भन्दै आफुहरुले प्रक्रियामा रहेर काम गरेको दावी गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *