गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला,यस्तो छ अन्तिम तयारी

—दश विदेशी सहित १५ मूर्तिकार आउँदै

दिल शिरीष,बागलुङ

जिल्लाको गलकोटमा हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको तयारी पुरा भएको छ ।

शुक्रबार कार्यशाला स्थल गलकोट नगरपालिका–५ टेउवामै पत्रकार सम्मेलन गरि सबै तयारी पुरा भएको र अब कलाकारको आगमन सहित उद्घाटनको पर्खाइमा रहेको आयोजक गलकोट कला प्रतिष्ठानले जानकारी दिएको छ ।

ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुप्मा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरिएको हो ।

मूर्तिकला कार्यशाला स्थल घुम्टेको काख हरिचौर टेउबा ।

फागुन ५ गतेदेखि शुरु हुने कार्यशालाको सबै तयारी पुरा भएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । कार्यशालास्थलमा तारबार, सडक, खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोज स्थल, शौचालय लगायतका संरचना तयार भइसकेको छ । मूर्ति बनाउन योग्य दुई टन भन्दा ठुला ३० वटा ढुङ्गा सङ्कलन गरेर राखिएको छ । डिपिआर सहित पूर्वाधार लगायतको अहिले सम्मको तयारीका काममा हाल सम्म एक करोड जति खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ ।

गलकोट नगरपालिका–५ टेउवामा १५ दिन सम्म चल्ने कार्यशालामा १० विदेशी सहित १५ मूर्तिकारले भाग लिनेछन् । मूर्तिकारले १५ दिनको अवधिमा १७ वटा आकर्षक मूर्ति बनाउनेछन् । अध्यक्ष रानाका अनुसार, उनीहरुले ढुंगा कुँदेर बनाउने मूर्ति मानव सभ्यता, भेषभुषा लगायतको हुनेछ । ‘यो हाम्रो बृहत्तर योजना हो, अहिलेको कार्यशाला शुभारम्भ हो,’ अध्यक्ष रानाले भन्नुभयो, ‘तीन लाख रुपैयाँमा डिपिआर नै तयार गरेर १२ करोडको लागतमा गलकोटमा मूर्तिकलाको अनुसन्धान केन्द्र बनाउने गरि काम गर्ने दीर्घकालिन योजना छ ।’ पर्यटकीय शहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा गलकोटमा मुर्तिकलालाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खोजिएको अध्यक्ष रानाको भनाई छ ।

पत्रकार सम्मेलनमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले कार्यशालाले गलकोटलाई पर्यटकिय हवको रुपमा स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम स्थलमा आयोजित पत्रकार सम्मेलनमा गलकोट नगरपालिकाका मेयर भरत गैरे

कार्यशाला पश्चात गलकोटकै टेउवामा अन्तराष्ट्रिय स्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाइनेछ । गलकोटमै जन्मिनु भएका मूर्तिकार ओम खत्रीको सोचमा प्रतिष्ठानले योजनावद्ध काम थालेको हो । कार्यशालास्थल टेउवा ३ हजार १ सय १० मिटर उचाईमा रहेको पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५५ किमि मोटर यात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरना लगायत आसपासका पर्यटकीयस्थल घुम्न सक्छन् ।

कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघि देखि नै शुरु गरिएको थियो । कार्यशालाका लागि गत आर्थिक बर्षमा संघीय सरकारबाट रु.५० लाख र गण्डकी प्रदेश सरकारबाट रु.४० लाख बजेट छुट्टिएको थियो ।

कार्यशाला परिसरमा निर्माण गरिएको आकर्षक पदमार्ग ।

कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क रुपमा प्रतिष्ठानलाई उपलब्ध गराएको प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आर्थिक बर्षमा तीन लाख रुपैयाँ बजेट छुट्टाएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ । कार्यशाला सम्पन्न गर्न थप एक करोड ४१ लाख बजेट लाग्ने आयोजकको अनुमान छ । यो वर्ष गण्डकी प्रदेश सरकारले रु. ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु. दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु.पाँच लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

स्थानीयवासी पूर्ण काउचाले रु. पाँच लाख सहित अन्य व्यक्तिले आर्थिक सहयोगको घोषणा गर्ने क्रम जारी छ । पूर्वाधार र कार्यशाला सञ्चालनमा कुल रु. तीन करोड खर्च हुने जनाइएको छ । डेढ करोड रुपैयाँ कार्यशालामा मात्र खर्च हुनेछ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।

अन्तराष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्र समेत बन्नेछ ।

कार्यशाला परिसर ।

आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी दुई सय ५ जना मूर्तिकारले आवेदन दिएकोमा ११ देशका १५ मुर्तिकार छानिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुहुनेछ । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी हुनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *