आदर्श सञ्चार र ओम वचत तथा ऋण सहकारी एकीकृत हुने

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण हुने भएको छ ।

दुवै संस्थाको तर्फबाट गठित कार्यदलको आइतबार सम्पन्न संयुक्त वैठकले दुई संस्थाबीच एकीकरण गर्ने सहमति गरेको हो ।

दुवै संस्थाको कार्यक्षेत्र मिलेको, अधिकांश शेयर सदस्यहरु दोहोरिएको तथा दुवै संस्थाले गर्ने वचत तथा ऋणको कारोबारमा एकरुपता भएका कारण संस्थाहरुबीच एकीकरण गर्न लागिएको जनाइएको छ । आदर्श सञ्चार सहकारी संस्थाको कार्यक्षेत्र बागलुङ जिल्ला भित्र र ओम वचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र बागलुङ नगरपालिका भित्र रहेको छ ।

दुई संस्थाको वार्षिक साधारणसभाबाट गठित कार्यदलबीच विभिन्न चरणमा भएको छलफल पछि संस्था एकीकरण गर्ने सहमति भएको आदर्श सञ्चार सहकारी संंस्था लिमिटेडका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले जानकारी दिनुभयो ।

एकीकृत संस्थाको नाम आदर्श सञ्चार सहकारी संस्था राख्ने, आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषलाई ओम दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोषका नामबाट सञ्चालन गर्ने, दुवै संस्थाको सञ्चालक समिति र वित्तीय कारोबारलाई एकीकृत गरी आदर्श सञ्चार सहकारी संस्थाको कार्यालयबाट कारोबार सञ्चालन गर्ने सहमति भएको ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर महतले जानकारी दिनुभयो ।

दुई सहकारी एकीकरण कार्यदलका सदस्यहरु

सहकारी संस्था एकीकरण कार्यविधि अनुसार आवश्यक प्रक्रिया पुरा गरी फागुन २३ गतेभित्र एकीकरण घोषणा गर्ने गरी आवश्यक काम सम्पन्न गर्न दुवै संस्थाका व्यवस्थापनलाई जिम्मेवारी दिइएको ओम वचत तथा ऋण सहकारी संस्थाका सचिव के.बी. शाहीले जानकारी दिनुभयो ।
सूचना तथा सञ्चारसंगै वचत तथा ऋणको समेत कारोबार गर्दै आएको आदर्श सञ्चार सहकारी संस्था र बचत तथा ऋणको कारोबार गर्दै आइरहेको ओम बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बन्ने एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।
आदर्श सञ्चार सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाबीच २०७३ मा एकीकरण भई काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको संस्थाले थप सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिने संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *