प्रतिबन्धित नेकपाका नेताद्वारा पार्टी परित्याग

आदर्श अनलाईन, बागलुङ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा बागलुङका जिल्ला नेताले बिहीबार पार्टी परित्यागको घोषणा गरेका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले माघ १४ गते पक्राउ गरेका बागलुङ नगरपालिका–७ का ४० वर्षीय लालबहादुर नेपाली (काजी) ले बिहीबार ६ हजार रुपैया धरौटीमा रिहा भए लगत्तै जिल्ला प्रशासन कार्यालय बागलुङमा पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

नेपालीले प्रमुख जिल्ला अधिकारी गौंलोचन सैंजु, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बागलुङका अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिव ज्ञामनाथ गैरे अनिल र नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपीला कंडेल, इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त संगै पत्रकारहरुको रोहवरमा पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

पार्टि परित्याग गरेसंगै नेपालीले आगामी दिनमा विप्लवका कुनै पनि बैठक र सभामा सहभागी नहुने, कृषि व्यवसाय तथा कुखुरा पालन गरेर बस्ने बताउनुभएको छ । नेपालीलाई परिवारको जिम्मा लगाउनु अगाडी धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ । पार्टी परित्याग गरेपनि नेपालीले एक हप्ता सम्म दैनिक तारेख खेप्नु पर्नेछ ।

यो पनि पढ्नुहोस्