सम्पादकीय
बागलुङ जिल्लाको बलेवा विमानस्थल दुई दशक अघि बन्द भयो । बिमानस्थल बन्द भए पछिका कैयन बर्ष सुनसान रहे । कारण निरन्तरता या पुनः सञ्चालनको सम्भावना धेरै कठिन बिषय थियो । २६ बर्ष जिल्ला र बलेवावासीले बिमान बिर्सिएरै बसे । तर, मुलुकमा नयाँ व्यवस्था स्थापित भयो । नयाँ संघीय व्यवस्थानमा तीन तहको सरकारको परिकल्पना गरियो । जस अनुसार, बागलुङ नगरपालिका साविकको नगरपालिका भन्दा अझ विस्तारित रुप लिदै बलेवाका तीन गाविस सहित १४ वडाको नगरपालिका बन्यो । साविकको नारायणस्थान गाविसमा पर्ने विमानस्थल सञ्चालन एउटा गाविसको पहल र जोडबाट सञ्चालन सम्भव थिएन । नगरपालिकामा समावेश भए पछि बलेवा विमानस्थल सञ्चालनको जिम्मेवारी र अपनत्व स्वभाविक बागलुङ नगरपालिकाको काँधमा आयो । नयाँ नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई केही उभार या देखिने काम गरौ भन्ने हुटहुटीले काम गरेको आभाष भइरहेको थियो । त्यही क्रममा बागलुङ नगरपालिकाको बिशेष पहल र अठोटमा बलेवा विमानस्थल सञ्चालन भयो । बलेवावासी र जिल्लामा खुशी र उत्साहको सञ्चार भयो । बिडम्बना, यस्तो खुशी र उत्साह लामो समय टिक्न सकेन ।
अहिले बलेवा विमानस्थल बन्द छ । बन्द बिमानस्थल सञ्चालनको ठुलो आशा र सपना तत्काल कतै देखिइरहेको छैन । बिमानस्थल सञ्चालन हुँदा जस लिनेको होडबाजी चल्यो । तर, बिमानस्थल बन्द भए पछि तीनै पात्रहरु नगरपालिकाले प्रयाप्त तयारी र पूर्वाधार बिनाको लगानी गरेको भन्दै बिरोधमा उत्रिए । त्यस यताको समयमा बलेवा विमानस्थलको चर्चा सेलाएको थियो । जनप्रतिनिधि, सांसदहरुको पहलमा बलेवा विमानस्थलका सम्बन्धमा फेरी मुर्छित सपनाहरु ब्युतिने आशा र संकेतहरु देखिनु सुखद बिषय हो । अहिले नागरिक उड्ययन प्राधिकरणले विमानस्थलको धानवमार्ग (रन–वे) कालोपत्रे गर्न थालिएको छ । २०७७ फागुन महिना भित्र विमानस्थलको ७ सय मिटर लम्बाई तथा ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे सक्ने योजना छ । यो क्रमागत योजनामा परेको छ ।
बलेवा विमानस्थल सञ्चालन जरुरी छ । अहिलेको समयको माग, आवश्यकता छिटो छरितो यात्रा हो । यसको उपयोग गर्ने नागरिक दैनिक बढ्दो क्रममा छन् । विमानस्थल सञ्चालनका लागि सबै भन्दा पहिले पूर्वाधार प्रयाप्त हुनुपर्छ । विमानस्थल दुई दशकमा सञ्चालन हुनु ठुलो कुरा थियो । तर, त्यसमा यथेष्ट तयारी र पूर्वाधार निर्माण बिना गरिएको त्यो काम केही हतारोमा गरियो भन्ने देखियो पनि । यसकारण पनि अहिले विमानस्थल पूर्वाधार निर्माण कार्य जरुरी थियो र छ । अहिले विमानस्थल पुग्ने सडक समेत कालोपत्रे गर्नका लागि कालीगण्डकी करिडोर आयोजनाले १२ किमी सडक बिभागलाई हस्तान्तरण गरिसकेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुन सकेमा विमानस्थल सञ्चालनका लागि बलियो आधारहरु तयार हुनेछ । अब विमान सञ्चालनका लागि यि पुर्वाधार निर्माणमा सबैले पहल र सहयोगी भुमिका जरुरी छ । विगतबाट पाठ सिकेर दीर्घकालिन रुपमा नियमित विमानस्थल सञ्चालन गर्न हर व्यक्ति र क्षेत्रबाट भुमिका निर्वाह गर्न जरुरी छ ।