बागलुङको कुँडुले फेदीमा १४ करोडको पूर्वाधार निर्माण

प्रचार प्रसार गर्न वैशाखमा महामहोत्सव

आदर्श अनलाइन, बागलुङ

धार्मिक गन्तव्यको रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुडुँले फेदी स्थित श्री रंगवेंकटेश मुक्तिनारायण मन्दिरमा १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ ।

मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालिन प्यांगोडा शैलीमा आकर्षक तिरुपती वालाजिधाम मन्दिर निर्माण गरिएको छ ।

भूगर्भ भित्र ७६ मिटर लामो शालग्राम संग्रहालय, गरुड स्तम्भ तथा ताम्रा पत्रले छाएको सभाहल निर्माण, मुक्तिनाथ वेदबिद्याश्रम, आवास, शौचालय लगायतको दर्जनौ संरचना अहिले तयार छन् । केही संरचना अब निर्माणको अन्तिम चरणमा छन् ।

शुन्यताबाट शुरु भएको अभियानमा सरकारी स्तरबाट ३ करोड र अरु दाताहरुबाट स्वतस्फुर्त प्राप्त सहयोगबाट यति बृहत्तर संरचना निर्माण गर्न सफल भएको श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा शुरुमा एक मन्दिर, एक सभाहल र मुक्तिनाथ वेद विद्याश्रम मात्र थिए ।

श्रीधराचार्यले तपश्या गरेको स्थानमा २०४० सालमा मन्दिर स्थापना भएको थियो । मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले उत्तिकै महत्वपूूर्ण मानिदै आएको छ । पछिल्लो समय श्रीधराचार्यको नाममा झण्डै ६ करोड खर्च गरेर निर्माण गरिएको शालिग्राम स्रग्रहालय हेर्न आउने पर्यटकको संख्यामा वृद्धि हुँदै आएको छ । अहिले शनिवारका दिन दैनिक एक सय देखि २ सय जनाको हाराहारीमा शालिग्राम संग्रहालय तथा कलात्मक शैलीमा निर्माण गरिएको बालाजीधामको मन्दिर हेर्न आउने गरेको प्रपन्नाचार्यले जानकारी दिनुभयो । ५ करोड रुपैयाँको लागतमा श्रीराम लेखेको ढुंगा तथा कलात्मक काठबाट नौ बर्ष लगाएर बालाजीधामको मन्दिर निर्माण गरिएको छ । जहाँ १ सय किलोग्रामको शालिग्राम राखेर पुजा आराधना गरिदै आइएको छ ।

विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षणको लागि संग्रहालय निर्माण गरिएको हो । ‘हामीले पछिल्लो १० वर्षमा १४ करोडको संरचना तयार पारेका छौं,’ प्रपन्नाचार्यले भन्नुभयो, ‘जसमध्ये नेपाल सरकारका विभिन्न तह मार्फत रु.तीन करोड सहयोग भएको छ अन्य दाताकै भरमा संरचना निर्माण गरेका रहेछौ, पछि फर्किएर हेर्दा हामी पनि दंग पर्ने गरेका छौ ।’ मन्दिर परिसरमा अत्यन्तै कलात्मक तरिकाले ताम्रापत्रले छाएको २ सय भक्तजन क्षमताको सभाहल निर्माण भएको छ । जुन बागलुङका समाजसेवी सहदेव राजभण्डारीका परिवारले रु.एक करोड ५० लाख खर्चेर निर्माण गर्नुभएको थियो । यस्तै सभाहल छेउमै १५ लाख रुपैयाँको लागतमा २५ फिट अग्लो गरुढ स्तम्भ निर्माण समेत गरिएको छ ।

मुस्ताङको मुक्तिनाथ देखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाईने शालग्राम शिलाको संरक्षणका लागि संग्रहालय निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । संग्रहालयमा सवा लाख शालिग्राम, दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मको कालीगण्डकी सभ्यताको नमूना चित्रण समेत गरिएको छ । ‘कालिगण्डकी नदिमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविश्यमा शालग्राम हराउँदै जाने भन्दै शालिग्राम संरक्षण गरिएको हो,’प्रपन्नाचार्यले भन्नुभयो–‘सबैको सहयोगले यस्तो पवित्र कार्य सम्पन्न भएको छ ।’

हिन्दुधर्मालम्बीको लागि कालो रंगको बाटुलो शिला (ढुंगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवहरु र सनातनीहरुले शालिग्रामलाई साक्षात बिष्णुको अवतारका रुपमा लिन्छन् । संग्रहालय नामाकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उनको २०५६ सालमा ३९ बर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरी लगायत दुई दर्जन बढी कृति प्रकाशित छन् ।

यसैगरी, निर्माण भएका संरचनाहरुको प्रचार प्रसार तथा सहयोगी व्यक्तित्वहरुलाई पूजाअर्चना गर्नका लागि यही वैशाख १० देखि १९ गते सम्म श्री विष्णुयाग, धनधान्यान्चल महामहोत्सव २०७७ गरिने भएको छ ।

निर्माण भएका संरचनाहरुलाई प्रचार प्रसार गर्नका सनातन वैदिक धर्मावलम्बी महानुभावहरु लगायत सबैलाई पुजनाका लागि महामहोत्सव आयोजना गरिएको ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । ‘हामीले धेरैको सहयोगमा १४ करोडका संरचना निर्माण गरेका छौं ।’ उहाँले भन्नुभयो ‘उहाँहरुलाई नित्रधण गर्ने, पूजामा सरिक गराउने तथा प्रचार प्रसार गर्ने मुय लक्ष हो ।’

महामहोत्सव सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन भइसकेको छ । १० दिनको अवधीमा विभिन्न प्रकारका पुँजा तथा अर्चाना हुँने यज्ञ सम्पादन मूल समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *