जागरण दैनिक १३ बर्ष पुरा, वार्षिकोत्सव खर्च आविष्कार केन्द्रलाई

आदर्श अनलाइन, बागलुङ

बागलुङ सदरमुकाबाट प्रकाशित धौलागिरी जागरण दैनिकको १३ वार्षिकोत्वसको खर्च जोगाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको छ ।

धौलागिरीमा पहिलो पटक सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था बागलुङले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकको शुक्रबार १३ वार्षिकोत्सव ढोरपाटनमा पुगेर मनाउने कार्यक्रम तय भएको थियो ।

तर, विश्वव्यापी रुपमा चुनौति र जोखिमको रुपमा देखिएको कोरोना भाइरसका कारण वार्षिकोत्सवका औपचारिक यात्रा समारोहका कार्यक्रम नगरी उक्त कार्यक्रममा लाग्ने खर्च जोगाएर महाविर पुनले आविष्कार केन्द्र सञ्चालनार्थ सञ्चालित अभियानमा २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको पत्रिकाका सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो ।

जागरण कार्यालयमै गरिएको पत्रकारसँगको संक्षिप्त चियापान कार्यक्रममा सम्पादक रामबहादुर जिसी ।

‘समृद्धिका लागि ग्रामिण सञ्चार हाम्रो अभियान हो,’ सम्पादक जिसीले भन्नुभयो,‘हरेक बार्षिकोत्सव ग्रामिण क्षेत्रमा मनाउने परम्परा जस्तो विकास गरेका थियौ, तर यसपटक कोरोनाका कारण सञ्चार प्रविधिका अभियन्ता महाविर पुनको अभियानमा साथ दिने गरी जोडिएका छौ ।’

म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले वार्षिकोत्सवको खर्च कटाएर आविष्कार केन्द्रलाई गरिएको सहयोग आफ्नो वृहत्तर अभियानका लागि सहयोगी बन्ने बताउनुभयो ।

आदर्शले कार्यालयमै सामान्य पत्रकारसँग चियापान गरेर पत्रिका, वार्षिकोत्सवको सहयोग हस्तान्तरण र आगामी यात्राका बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा जिल्लाका समग्र सञ्चार माध्यम र सञ्चारकर्मी पत्रकारका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्तीले धौलागिरी जागरण दैनिक लगायतका प्रकाशन मार्फत आदर्शले सवल सञ्चार माध्यमको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

जागरण दैनिकको प्रकाशक संस्था आदर्श सहकारीकी अध्यक्ष अञ्जु जिसी ।

सञ्चार माध्यमको विकासका लागि सहकारी माध्यम उपयुक्त हुने ठहरका साथ २०६३ साल फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक प्रकाशित गरी शुरुमा अर्धसाप्ताहिक प्रकाशनबाट यात्रा थालनी गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुले बताउनुभयो । उहाँका अनुसार, आदर्श सञ्चार सहकारी संस्थाद्धारा धौलागिरी जागरण दैनिकका साथै आदर्श सञ्चार अनलाइन, अग्रसर साप्ताहिक प्रकाशन र समन्वयात्मक सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजनमा सहकार्य गरेको छ ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्त खड्काको स्वागत मन्तव्य र कार्यकारी सम्पादक दिल शिरीषको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *