जलवायु असर: गण्डकीमा कफी उत्पादनमा करोडौंको क्षति

तस्बिरः कफीमा भएको क्षतिका बारेमा गुनासो सुनाउन पोखरामा जम्मा भएका कृषकहरु ।

आदर्श अनलाइन, पोखरा

यस वर्ष गण्डकी प्रदेशका कफी उत्पादनमा ठुलो क्षति भएको छ ।

जलवायु परिवर्तनमा देखिएको समस्याका कारण प्रदेशका कफी व्यवसायीहरु ठुलो मारमा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय पोखराले जनाएको छ ।

चालु आर्थिक वर्षमा उत्पादन भएको करिब ५ करोडको फ्रेश चेरी र एक करोड मुल्य बराबरको कफी नर्सरीमा क्षति पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताउनुभयो । गण्डकी प्रदेशका ९ जिल्लामा अहिले कफी उत्पादन हुँदै आएको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ भने हिमाली भेगमा पर्ने भएकाले उक्त क्षेत्रमा कफी खेती छैन । अहिले फ्रेश चेरीको प्रति केजी करिब ८५ रुपैया पर्छ ।

गण्डकी प्रदेशमा विगत दुई महिना देखि कफीका बोट सुकेर मर्ने समस्याले गर्दा व्यवसायीक कफीका किसान ठुलो मारमा परेका हुन् । कफीका बोट र फलमा समस्या देखिए पछि यसको रोकथामको लागि के गर्ने भन्ने बिषयमा अनुसन्धान भइरहेको उहाँको भनाई छ । जलवायु परिवर्तको कारण दिन र रातको तापक्रम बढी हुँदा कफीका बोटहरु मर्न थालेको किसानहरुले केहि महिना यता गुनासो गर्दै आएका छन् । कफी बगैचामा हाल कफीका पातका नसा सुक्ने, बोट पूर्ण रुपमा डढ्ने, साना कफी बोटहरुको टुप्पोबाट पात झरी कालो हुने, हाँगा सुकी मर्ने लगायतको समस्या देखा परेको कफी विकास बोर्डका प्रमुख पुरीले बताउनुभयो ।

गत पुस महिनादेखि हल्का कफीका बोटहरु मर्न थालेकोमा माघ महिनामा अत्यधिक मरेको र फागुनमा पनि त्यो क्रम नरोकिएको सिद्ध कफी उत्पादक सहकारी संस्था अर्पन पोखराका अध्यक्ष सशिधर पौडेलले बताउनुभयो । पहाडी भेगमा छहारी नभएका कफीका बोटमा यस्ता समस्या देखा परेको पौडेलको भनाई छ । गत वर्ष करिब १७ लाख रुपैया कफीबाट उत्पादन भएकोमा यस वर्ष करिब ५ लाख रुपैया पनि आम्दानी गर्न मुस्किल हुने देखिएको उहाँले बताउनुभयो ।
प्रदेशमा संगठित हुदै विभिन्न समुह तथा सहकारीमार्फत कफी खेतीमा लागेका किसान यति बेला चिन्तामा छन् । पोखरामा यसबारे किसानहरु संगको छलफल कार्यक्रममा किसानहरुले कफी कृषकहरुले ठुलो क्षति बेहोर्नु परेकाले सरकारका तर्फबाट बिशेष प्याकेजको कार्यक्रम मार्फत सम्बोधन र सहयोग गर्न आग्रह गरेका छन् ।

स्याङ्जा जिल्ला कफी सहकारी संघ लिमिटेडका अध्यक्ष फणिनारायण अर्यालले नेपालकै सबै भन्दा बढी कफी उत्पादन हुने जिल्ला स्याङ्जा भए पनि यस बर्ष कफीका बोटहरु मरेकाले आँफुहरु निकै ठुलो आर्थिक समस्यामा परेको बताउनुभयो । स्याङ्जामा व्यवसायीक कफी खेती गर्ने ७ सय जना बढी किसान छन् । सरकारले कफी खेतीलाई आकर्षित गर्न बिमा नीति र क्षति पुगेका कृषकहरुलाई राहात स्वरुप केही रकम उपलब्ध गराउनु पर्ने उहाँले बताउनुभयो ।

कास्कीका जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष आनन्द सुवेदीले कफीका नर्सरी बेर्ना र पुराना कफीका बिरुवामा समेत मर्ने समस्या आएको गुनासो गर्र्नुभयो । फल फलेका ५८ हजार बिरुवामा पूर्ण रुपमा नष्ट भएका, एक लाख ४४ हजार आंशिक क्षति भएको उहाँले बताउनुभयो । अहिलेकै अवस्था रहे कृषकहरु हतोत्साहित हुने अवस्था आउने किसानहरुले बताएका छ्न । गत वर्ष कास्कीमा करिब ३० टन कफी उत्पादन भएकोमा वर्ष करिब १० टन पनि उतपादन हुन कठिन हुने अवस्था छ ।

तीन तहको सरकार र सरोकारवाला सवैले कफीका बिरुवा र फलमा भएको क्षतिलाई सम्वोधन गर्नुपर्नेमा किसानहरुको जोड छ । गत वर्ष प्रदेशमा ९ लाख ८ हजार केजी फ्रेश चेरी उत्पादन भएको थियो । उक्त फ्रेश चेरीको मुल्य करिब ७ करोड ७१ लाख परेको कफी विकास बोर्ड पोखराका प्रमुख पुरीले बताउनुभयो । यस वर्ष करिब ३ लाख ८५ हजार केजी फ्रेश चेरीको उत्पादन हुने अपेक्षा गरिएको छ भने करिब ५ लाख २३ हजार केजी फ्रेश चेरी नोक्सान हुने अनमान गरिएको छ । उक्त कफी नोक्सान हुदा करिब ५ करोड मुल्य बराबरको क्षति भएको छ ।

प्रदेशका ८ जिल्लामा कफी नर्सरीबाट यस वर्ष २ लाख ९० हजार ५ सय वटा कफीका बोट पूर्ण रुपमा मरेको छ । यस बर्ष प्रदेशमा ९९ हजार ७ सय ५० वटा कफीका बोट आंशिक क्षति पुगेको छ भने कफी बगैचामा करिब २ लाख कफीका बिरुवा नोक्सान भएको छ । एक देखि दुई वर्षका कफीका बिरुवा करिब ८० प्रतिशत मर्ने समस्या रहेको छ ।

प्रदेशमा करिब १० हजार जना व्यवसायीक कफी उत्पादक किसानहरु सक्रिय छन् । यस वर्षको करिब दुई महिनाको अवधिमा ६० प्रतिशत कफी खेतीमा प्रत्यक्ष असर परेको । रहेको वोर्डका प्राविधिक नगेन्द्र सुवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *