होलीमा सुनसान बागलुङ: कोरोना सन्त्रास कि सजगता ?

प्रत्येक बर्ष होलीमा कन्सर्ट हुने हल्लनचोक । मंगलबार दिनभर सुनसान रह्यो ।

दिल शिरीष,बागलुङ

फागु पूर्णिमा अर्थात होलीको दिन बागलुङ बजार गुल्जार देखिन्थ्यो र सुनिन्थ्यो पनि । रंगिन अनुहार सहितका बालबालिकादेखि युवायुवतिहरुको बाक्लो उपस्थिति । बजारको मुख्य हल्लनचोकमा होली कन्सर्ट । सयांै युवायुवतिहरु यहाँ झुम्मिन्थे, रंग खेल्थे, सद्भाव बाँड्थे । पछिल्लो केहि बर्ष यता होलीका दिन हल्लनचोकको कन्सर्ट बार्षिक नियमितता जस्तो बनिरहेको थियो । तर, यस पटक हल्लन चोक दिनभर सुनसान देखियो ।
…………………….
बागलुङ बजार नेवारी समुदायको अधिक बसोबास भएको क्षेत्र । यो समुदाय कला, सँस्कृति र संरक्षणका हिसावले पनि धनी । फागु पूर्णिमाका दिन नेपाल भाषा मकाः खलको आयोजनामा आफ्नै छुट्टै मौलिक सँस्कार सहित होली मनाउँथे । पुराना मौलिक भाकाहरु हालेर नाँच्दै, गाउँदै, बजाउदै बजार घुम्थे । सद्भाव सहितको रंग अनि सामुहिक रुपमा भेटघाट गरेर खानपान । यसले बजारमा छुट्टै रौनकता ल्याउथ्यो । तर, यस बर्ष फागुका दिन सन्नाटा जस्तो छाइरह्यो ।
………………….
बजारमा मात्र होइन, होलीको उत्साह र रौनकता गाउँ तह सम्म हुन्थ्यो । गलकोटको मल्ममा गलकोट क्षेत्रकै बृहत ऐतिहासिक होली मेला हुन्थ्यो । त्यहाँको घुम्टे युवा परिवारले बिभिन्न कार्यक्रम, साँगीतिक प्रस्तुति सहित मेला गथ्र्यो । त्यसको सबै किसिमको तयारी पनि आयोजकले पुरा गरेको थियो । तर, अन्तिम समयमा गलकोटको मौलिकता सहितको त्यो होली मेला पनि स्थगित भयो । र होलीमा रंगिन बन्ने बनाउने त्यो मल्म मेला स्थल दिनभर सुनसान बनिरह्यो ।
………………………..
विश्वव्यापी रुपमा चुनौति र जोखिम बनिरहेको कोरोना भाइरसका कारण बागलुङ होलीको दिनमा पनि सुनसान देखियो । होलीको अघिल्लो दिन सम्म पनि धेरैलाई लागेको थियो कि सरकार र स्थानीय प्रशासनले भीडभाड हुने गरी होली नखेल्न आग्रह गरे पनि यो रोकिने छैन । कुनै न कुनै किसिमले सडकमा रङ खेलेर मनाउनेहरुको संख्या अधिक हुनेछ । तर, यस्तो अनुमान पूर्णतः गलत सावित देखियो । सडकमा नौजवान युवायुवतिहरु मात्र होइन, ससाना बालबालिकाहरु समेत रमाइलो गर्दै रङ लाउने लगाउनेहरु निकै कम देखिए । अलिअलि रङ लगाउनेहरु पनि घरभित्रै सिमित भए ।

होलीमा बागलुङ सुनसान हुनु कोरोना भाइरसको सन्त्रास र त्यसको पूर्ववत सजगता दुवै भएको भक्तबहादुर बिक बताउनुहुन्छ । ‘होलीमा बागलुङ यति सभ्य र अनुशासित देखिएला भन्ने सोचेको थिएन,‘उहाँले भन्नुभयो,‘प्रहरी प्रशासनको आग्रहको भन्दा रोगको डरले मानिसहरुलाई निर्देशित गरेको हुनुपर्छ ।’

फागुमा सडकमा हिड्ने मान्छेहरुलाई समेत अबिर,रङ लगाउने, पानी पिचकिरी हान्ने र घर माथिबाट रङ छ्यापेर रंग रमाइलो गर्ने स–साना नानीबाबुहरु पनि पहिले जस्तो रमाइलोमा देखिएनन् । उनीहरु पनि निकै सचेत र संयमित भएको पाएको सुमन घर्तीले बताउनुभयो । ‘बालबच्चालाई बिद्यालयमा सर मिसहरुले पनि कोरोनाको जोगिम र बच्ने उपायकाबारेमा धेरै राम्रो गाइड गरेको पाइयो,’ घर्तिले भन्नुभयो, ‘होली खेल्ने होइन भनेर ठट्टा गर्दा पनि उनीहरुले सर मिसले यो पटक खेल्नु हुँदैन, कोरोना लाग्छ भनेर भन्नुभएको छ भनेर जवाफ दिए, यो अहिलेको सन्दर्भमा धेरै राम्रो सचेतता हो ।’

गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका अधिकृत घनाश्याम सापकोटाले थोरै डर र धेरै सावधानीकै हिसावले सचेतता अपनाएको पाएको बताउनुभयो । ‘मिडियादेखि प्रत्येक मानिसले अहिले कोरोनाकै बारेमा समाचार र गफ गरिरहेका हुन्छन्,’ सापकोटाले भन्नुभयो,‘यस्तो बेलामा मानिसहरुमा कोरोनाको मनोवैज्ञानिक सन्त्रास पनि देखियो । र त्यो भन्दा पनि सरकार, प्रशासनले रङ नखेल्न भनेका हिसावले संवेदनशिल रुपमा सबैले लिएर सचेत भएको पाइयो, यो राम्रो कुरा हो ।’ -जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *