गण्डकीमा पाँचमा कोरोना आंशकाः दुई नेगेटिभ,तीनको परीक्षणमै

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) लागेको आशंकामा ५ जनाको परीक्षण भएको छ ।

तीमध्ये २ जनाको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

डा. शर्माका अनुसार बाँकी ३ जनाको परीक्षण नतिजा आउन बाँकी छ । कोरियाबाट फर्किएका म्याग्दीका एकजनाको रगत परीक्षणका लागि पठाइएकोमा नतिजा सुखद निस्किएको डा.शर्माले जनाए । पोखराको लेखनाथका अर्का एकजनाको नजिता पनि सुखद नै निस्किएको हो । म्याग्दीका बासिन्दा कोरियाबाट फर्किएपछि आफैं स्वास्थ्य जाँच र रगत परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका थिए ।

‘ज्वरो आउँदैमा, रुगाखोकी लाग्दैमा र श्वासप्रश्वासमा समस्या हुँदैमा कोरोना भयो भन्ने हुँदैन’, डा. शर्माले भने, ‘कोरोना लागेको व्यक्तिको सम्पर्कमा गएको वा कोरोना भएको देशबाट आएको भएमात्रै शंका गर्नुपर्छ ।’

कोरोना भाइरस लागेको शंकास्पद बिरामीलाई उपचारका लागि १ सय बेड क्षमताको आइसोलेसन स्थापना गरिसकेको जानकारी डा. शर्माले दिए । पोखरा र तनहुँका अस्पतालमा त्यस्तो व्यवस्था भएको हो । क्वारेन्टाइनमा राख्नका लागि पनि कृषि र सशस्त्र प्रहरी बलका तालिम कक्षका होस्टेल तयारी अवस्थामा रहेको उनले बताए । डा। शर्माले कोरोनो रोकथामका लागि बजेट अभाव नरहेको पनि सुनाए ।

डा. शर्माका अनुसार कोरोना संक्रमित वा आशंकित बिरामीको उपचार गर्दा चिकित्सकले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युम्मेन्ट (पीपीई) पोसाक गण्डकीमा ६६ वटा मात्रै छन् । त्यस्ता पोसाक विश्वभर नै अभाव भइरहेको हुँदा विस्तारै मगाइ राखिएको पनि उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना रोकथामलाई एउटा युद्धको संज्ञा दिएका छन् । उनले भने, ‘यो युद्धमा सैनिक जवानमात्रै मारिने भन्ने हुँदैन, जर्नेल, कर्नेलमात्रै मारिने भन्ने पनि हुँदैन, जनता पनि मारिन सक्छन् ।’

उनले कोरोना रोकथामका लागि विधि र प्रक्रिया पुर्‍याएर १ अर्ब रुपैयाँसम्म बजेट छुट्याउन प्रदेश सरकार तयार रहेको जानकारी उनले दिए । उनले भने, ‘तर कोरोनाको नाममा हाम्रो थैली जता पायो त्यहीँ फुकाउन भएन । त्यसमा पारदर्शिताको कुरा छ, विधि प्रक्रियाको कुरा छ ।’ मुख्यमन्त्री गुरुङले कोरोना लाग्नै नदिने सिद्धान्तमा आधारित रहेर प्रदेश सरकारले काम गरिरहेको बताए । प्रदेश सरकारले कोरोना रोकथामका लागि मुख्यमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय निर्देशनसमिति गठन गरेको छ ।

पोखरा विमानस्थल निर्माणस्थलमा ७१ जना चिनियाँ क्वारेन्टाइनमा छन् । प्रदेश स्वास्थ्य निर्देशक डा। शर्माका अनुसार चीनबाट नेपाल आउनुअघि उनीहरू आफ्नै देशमा १४ दिन क्वारेन्टाइनमा थिए । तर १० दिनका लागि नेपालमै उनीहरु क्वारेन्टाइनमा राखिएका हुन् । विभिन्न ठाउँमा हेल्पडेस्क स्थापना भइसकेको र कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई तालिमसमेत दिइएको जानकारी डा. शर्माले दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *