आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको छ । प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई ‘नमूना कृषि गाउँ’ बनाउने भएको हो ।
गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एक/एक ‘नमूना कृषि गाउँ’ छनोट गरेको थियो । व्यावसायिक कृषि उत्पादनका माध्यमबाट पाँच वर्षभित्रमा आधारभूत खाद्य उत्पादनमा आत्मर्निभर बन्ने लक्ष्यका साथ प्रदेश सरकारले नमूना कृषि गाउँलाई प्राथमिकतामा राखेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए ।
प्राविधिक शिक्षा तथा तालीम परिषद्अन्तर्गत धौलागिरी पोलिटेक्निक इन्स्टिच्युट बाग्लुङले मंगलबार पोखरा–१६ अर्मलामा आयोजना गरेको ३ सय ९० घण्टाको बेमौसमी तरकारी खेती तालीमको उद्घाटन गर्दै उनले नमूना कृषि गाउँ कार्यक्रमलाई निर्वाचन क्षेत्र, पालिका तथा वडातहसम्म विस्तार गरेर बढी भन्दा बढी कृषि उत्पादन गर्ने सरकारको नीति रहेको बताए । उनले भने, “व्यावसायिक उत्पादनका लागि कृषकलाई तालीम, प्रविधि हस्तान्तरण र माटो अनुसारको उत्पादनको सम्भावना पहिल्याउँदै कृषकलाई सुविधा प्रदान गर्ने नीति कार्यक्रम सरकारको छ ।”
प्रदेशका ८५ वटै स्थानीय तहमा कृषि उत्पादन ‘ब्लक’ तथा प्रत्येक वडामा ‘पकेट’ क्षेत्र बनाउने गरी सम्भावना, वस्तुगत आवश्यकता तथा जनचासोका आधारमा गाउँ गाउँमा कार्यक्रम लगिने उनले स्पष्ट पारे ।
इन्स्टिच्युटका शिक्षालय प्रमुख बज्रमोहन पौडेलले स्थानीयवासीलाई सीप सिकाउँदै पोख्त बनाउने र अर्गानिक तरकारी उत्पादन गर्दै आयआर्जनमा सघाउने उद्देश्यले तालीम आयोजना गरिएको जानकारी दिए । प्रत्येक दिन छ घण्टाका दरले ६५ दिनसम्म तालीम सञ्चालन हुने र तालीमका अवसरमा कृषकहरुलाई विभिन्न प्रकारका बेमौसमी तरकारी खेती, विषादी परीक्षण, भण्डारण तथा विक्री वितरणका बारेमा ज्ञान दिइने प्रशिक्षक दुर्गाबहादुर गुरुङले बताए ।