कोरोना सजगताः यस्तो छ बागलुङका १० स्थानीय तहको तयारी

आदर्श अनलाइन टिम, बागलुङ

कोरोनाले विश्व समुदाय आक्रान्त छ । नेपाल संक्रमणको हिसावले अहिले सम्म सुरक्षित भए पनि जोखिम बढ्दो छ । खासगरी भारत र अन्य देशहरुबाट नेपाल भित्रिएका नागरिकका कारण कोरोनाको जोखिम बढेको छ । विदेशबाट आएका अधिकाशं अहिले गाउँ घरमा छन् । तर, हाम्रा स्थानीय सरकारहरुको तयारी चुस्त र चित्त बुझ्दो नदेखिएको गुनासो छ । आदर्श अनलाइन टिमले १० वटै स्थानीय सरकारको तयारी र फितलो व्यवस्थापनमा खबरदारी शुरु गरेको छ । जिल्लाका १० स्थानीय तहको कोरोना सजगता तयारी के कस्तो छ त ?

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले नगरमा कोरोनाको जोखिम पछि उच्च सर्तकता अपनाएको छ । नगरपालिकाले नगरपालिका कार्यालय परिसर र बागलुङ जिल्लाको प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना गरिएको छ । बागलुङ नगरपालिका जिल्ला सदरमुकाममा भएका कारणले गर्दा उच्च जोखिममा छ । यसैले अन्य दुई स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । नगरकै पहलमा आइसोलेसन कक्ष स्थापनाका लागि बागलुङ नगरपालिकाको रातमाटा, रामरेखा बाङ्गेचौरका रामरेखा आधारभुत बिद्यालयमा क्वारेन्टाइन निर्माण गर्न थालिएको छ ।
नगरपालिकाले धौलागिरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क ५०० थान माक्स प्रदान गरेको छ । कोरोना रोकथामका लागि अत्यावश्यक उपकरण तथा औषधी खरिदका लागि रु.१० लाख बजेट विनियोजन गरेको छ । उक्त सामाग्री अस्पताल, स्वास्थ्य चौकी लगायतका स्थानमा वितरण गरिनेछ । बागलुङ जिल्लालाई लक डाउन गर्नका लागि समन्वयको भूमिका निर्वाह गरेका छौं । यस्तै बागलुङ जिल्लामा अत्यावश्यक वस्तुको अभाव हुन नदिनका लागि निरन्तर अनुगमनमा लागिरहेका छौं । बागलुङको बलेवा क्षेत्रमा प्रवेश गर्ने झोलुङ्गे तथा यन्त्रिक पुल सञ्चालनमा रोक लगाउने तयारीमा छौं ।
(बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसँगको कुराकानीमा आधारित)

जैमिनी नगरपालिका
कोरोनाको सचेतनाका लागि नगरपालिकाका स्वास्थ्य स्वयम्सेविका, अन्य स्वास्थ्यकर्मी र जनप्रतिनिधि लागि परेका छौं । सबै वडाका जनप्रतिनिधिले सबैलाई घर भित्र बस्न आग्रह र सचेत बनाउनुभएको छ । सबै भन्दा पहिले बाहिरी मुलुकबाट नगरपालिकामा भित्रिएकाहरुको पहिचानमा जुटेका छौं । अहिले सम्म वडा नम्बर ८ छिस्तीमा १५,२० जना मानिसहरु भारतबाट आउनुभएको भन्ने सूचना प्राप्त भएपछि सोही वडाका जनप्रतिनिधिहरुले उहाँहरुलाई दुई हप्ता घर भित्रै बस्न र घरका अन्य सदस्यहरुसँग पनि स्वास्थ्य सजगता अपनाउन भनिएको छ । २० दिन भन्दा पहिले दमेकमा १ जना चिनबाट आउनुभएका व्यक्ति फेला पर्नुभएको थियो । उहाँलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाएर कुनै पनि संकेत नदेखिए पछि अहिले सामान्य अवस्था हुनुहुन्छ । भारतबाट आउनुभएका सेरा बजारका एक व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकामा एउटा एम्बुलेन्स छ । त्यसलाई तयार अवस्था राखिएको छ । बुटवलबाट छिस्ती हुँदै प्रवेश गर्ने नाकामा सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले नाकामा बसेर कडा चेकजाँच गरिरहेको छ । हेल्थ डेक्स पनि स्थापना गरिएको छ । अहिले सम्म त्यस्तो शंकास्पद कोहि पनि भेटिएको छैन । भेटिहाल्यो भने पनि तत्काल उहाँहरुलाई राख्नका लागि हामीसँग क्वारेन्टाइनको व्यवस्था छैन । आइसोलेसनको व्यवस्था छैन । त्यसैले सबैभन्दा ठुलो सावधानी र सजगतानै हो । हाम्रा नागरिकहरु १० दिन मात्रै सरकारको निर्देशन अनुसार घर भित्रै बस्नुभयो भने अवस्था सामान्य हुन सक्छ । तर सम्झाई बुझाई गर्ने ग्राहो भएको छ । हामीहरुले सक्ने सम्म प्रयास गरिरहेका छौं ।
(जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलसँग गरिएको कुराकानीमा आधारित)

ढोरपाटन नगरपालिका
कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखी ढोरपाटन नगरपालिकाले पनि विशेष सावधानी अपनाउन थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि बुर्तिबाङ स्थित बसपार्क तथा नगर स्तरका विभिन्न स्थान सहित बजारका चोक-चोकमा हेल्थ डेक्स स्थापना गरी आवश्यक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजो मात्र संक्रमण पुष्टि भएका किशोरीसँगै एउटै बिमानमा आएका ढोरपाटन अधिकारीचौरका २४ बर्षिय युवालाई होम क्वारेन्टाइनमा राखिएको छ । स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी राखिएको र कुनै लक्षण नभएकाले अवस्था सामान्य छ । अरु आशंका गरिएका या जोखिम भएका व्यक्ति भेटिएमा क्वारेन्टाइनमा राख्नका लागि बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालयलको भवनलाई क्वारेन्टाइनको प्रयोग गर्ने गरी आवश्यक व्यवस्था गर्न लागेका छौ । भाइरसको संक्रमण हुन नदिन तथा फैलिन नदिन नगरपालिकाका विभिन्न स्थानहरुमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।
उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि आवश्यक सामग्री तथा अन्य औषधीजन्य सामान खरिदलाई तीव्रता दिइएको छ । खाद्यान्न सामग्री तथा मेडिकल सेवा उपलब्ध गराउने पसलहरु अनिवार्य रुपमा खुला राख्ने र अन्य पसलहरु बन्द गराइएको छ । जनचेतना फैलाउनका लागि विभिन्न संचार माध्यम मार्फत जनचेतनामुलक सामग्री प्रकाशन तथा प्रसारण गरिएको छ । नगरपालिकाले भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न आवश्यक परेमा एक महिनाका लागि पारिश्रमिक दिने गरी भोलेन्टियर कर्मचारी नियुक्ति गर्ने समेत तयारी छ ।
(ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसँग गरिएको कुराकानीमा आधारित)

गलकोट नगरपालिका
गलकोट नगरपालिकाले विदेश तथा जिल्ला बाहिरबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नगरपालिकाल विदेशबाट आएकालाई केहि समय परिवारसँग नबस्न आग्रह गरेको छ । गलकोटमा सञ्चालित निजी तथा सामुदायिक स्वास्थ्य संस्थासँग सहकार्य गरी स्वास्थ्य व्यवस्थापनलाई तिव्रता दिइएको छ । कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी निजी स्वास्थ्य संस्थासँग समन्वय गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयत्नमा छौ । नगरपालिकाको कोरोनाबारे परीक्षण तथा परामर्शक लागि विभिन्न स्थानहरुमा समेत स्वास्थ्य सहायता कक्ष ‘हेल्प डेक्स’ स्थापना गरेका छौ ।
(गलकोट नगरपालिकाका उपमेयर रेणुका काउचासँग गरिएको कुराकानीमा आधारित)

काठेखोला गाउँपालिका
हामीले कोरोनाको जोखिमबाट बच्नका लागि थुप्रै सचेतनाका उपायहरु अबलम्बन गर्दै आएका छौं । प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा अत्यावश्यक औषधी, सरसफाई तथा सुरक्षाका बस्तुहरु वितरण गरिएको छ । गाउँपालिका तथा वडा कार्यालयमा हात धुने व्यवस्था मिलाईएको छ । कोरोना सचेतनाका लागि पोष्टर वितरण गरिएको छ । गाउँपालिका, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा फ्लेक्स प्रिन्ट टाँस गर्ने गरिएको छ । यस्तै प्रत्येक वडा, स्वास्थ्य केन्द्रमा माक्स, स्यानिटाइजर, ग्लोव्स पठाइएको छ । गाउँपालिकाले सरसफाईको लागि चाहिने बाल्टी, सावुन, एप्रोन समेत सम्बन्धित स्वास्थ्य संस्थामा पठाएको छ । जिल्ला वा जिल्ला बाहिरवाट भित्रिने नेपालीहरुको वडा कार्यालय मार्फत निगरानी गर्ने र लगत संकलन गर्ने काम भइरहेको छ । कोरोना भएको आशंका हुँदा साथ रेडक्रस सोसाइटी बिहुँ शाखाको समन्वयमा तुरुन्तै उपचारका लागि एम्बुलेन्स मार्फत अस्पताल पठाईने गरी तयारी गरेका छौं । यदी यो संकट लम्बिने अवस्था भयो र दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई संकट र समस्या हुन थाल्यो भने त्यसको जिम्मा हामी लिन्छौ । त्यसका लागि सबै वार्डलाई ज्यालादारी गर्ने श्रमिक मजदुरहरुको तथ्यांक संकलन गर्न लगाइरहेका छौ । यो राष्ट्रिय संकटको घडीमा नजिकको सरकार छ भन्ने अनुभूति दिन हामी कुनै कसर बाँकी राख्दैनौ । रोगको औषधि पहिचान नभएको र घातक भाइरसको रुपमा विश्वनै आक्रान्त बनाइरहेको अवस्थामा गाउँपालिकाका नागरिकलाई स्वयम् सजग र सचेत भएर घरमै सुरक्षित बस्न अपिल गरेका छौ ।
(काठेखोला गाउँपालिका अध्यक्ष अमर थापासँग गरिएको कुराकानीमा आधारित)

तमानखोला गाउँपालिका
गाउँपालिकाका सबै वडामा समन्वय समिति गठन गरेका छौं । समितिले वडा वडामा बैदेशिक रोजगारीबाट आउनुभएकाहरुको लगत संकलन गरिरहेको छ । एक हप्ता पहिले बाहिरबाट आएकाहरुको स्वास्थ्य परिक्षण र निगरानी गरिरहेका छौ । नेपाल सरकारको परिपत्रलाई कार्यान्वयन गर्न सबैलाई आग्रह गरेका छौं । सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । गाउँपालिकाको जनजागृति माविलाई क्वारेन्टाइनको रुपमा व्यवस्थापन गरिरहेका छौं । तीन वटा जीपलाई तयारी अवस्थामा राखेका छौ । गाउँपालिकामा १९ जना स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँहरुलाई तयारी अवस्था बस्न लगाइएको छ । माक्सको अभाव छ । बाहिरबाट मगाएको सवारी साधन नचलेको हुनाले प्राप्त हुन सकेको छैन । अहिले सम्मको अवस्था सामान्य छ । अहिले सम्म जिल्लामा एक जनामा पनि संक्रमण नदेखिनु सुखद पक्ष हो । तर संक्रमण देखिएको छैन भनेर नागरिहकले सरकारले दिएको निर्देशनको पालना नगर्दा ठुलो दुर्घटना हुन सक्छ । हामीसंग प्रयाप्त स्रोत साधन छैन । त्यसैले यो रोग लाग्न नदिनको लागि सचेत हुनुपर्छ । लागि हाल्यो भने हामिले ठुलो तयारी गरेका छौ भन्ने सोचेका छौ । यो सब एकछिनमै स्वाहा हुने अवस्था छ ।
(तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासँग गरिएको कुराकानीमा आधारित)

निसीखोला गाउँपालिका
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि निसीखोला गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा औषधी तथा कर्मचारी व्यवस्थापनलाई तिव्रता दिएको छ । गाउँपालिका भित्रका विभिन्न स्थानहरुमा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गर्न थालिएको छ । गाउँ–गाउँमा पुगेर नागरिकहरुलाई कोरोना भाइरस बारेमा जनचेतना फैलाइरहेका छौ । पालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गरेर जनचेताना फैलाउन तर्फ लागेका छौँ । बिरामी चेकजाँच गर्दा कसैलाई कोरना भाइरस संक्रमणको आंशका भएको पाइएमा तुरुन्तै रिफर गर्ने र त्यसको अरु व्यवस्थापनका लागि योजना बनाइरहेका छौ ।
(गाउपालिका अध्यक्ष तारानाथ पौडेलसँगको कुराकानीमा आधारित)

ताराखोला गाउँपालिका
गाउँपालिकामा कोरोनाको उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको एम्वुलेन्स तयारी अवस्थामै छ । आवश्यक पर्दा साथ एम्वुलेन्स सेवा दिइनेछ । गाउँ–गाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको हिल र अम्मरभुमी स्वास्थ्य चौकीमा दुई÷दुई वेडको आइसोलेसन कक्ष निर्माणमा जुटेका छौं । अत्यावश्यक बाहेकको सेवा बन्द गरेका छौं । गाउँपालिकाका सबै कर्मचारीहरुले १० प्रतिशत रकम नेपाल सरकारको कोरोना बिरुद्धको कोषमा जम्मा गरिएको छ ।
(गाउँपालिका अध्यक्ष प्रकाश घर्ति सँग गरिएको कुराकानीमा आधारित)

बडिगाड गाउँपालिका
कोरोना भाइरसको नियन्त्रणको लागि बडिगाड गाउँपालिकाले गाउँपालिका प्रदेशद्धारहरुमा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेक्स’ राखेका छौ । हेल्थ डेक्समा गाउँपालिका बाहिरबाट भित्रिने नागरिकहरुको स्वास्थ्य अवस्थाको जाँच गरिने र आवश्यक सल्लाह तथा सुझाव दिइएको छ । डेक्समा ज्वरो, प्रेसर जाँच र उनीहरुको विवरण राख्ने काम भइरहेको छ । बाहिरबाट गाउँपालिका भित्रिने सबैलाई आफ्नै घरमा अलग्गै बस्न गाउँपालिकाले अनुरोध गरेको छ । सबै नागरिकलाई सचेत रहन तर नआत्तिन आग्रह गर्दै, भारत सहित नेपाल बाहिरबाट आएका सबै नेपालीलाई आ–आफ्नो घरमै क्वारेन्टाइनमा बस्न आव्हान गरिएको छ । कुनै बिरामीमा संक्रमण भेटिए आवश्यक उपचारको व्यवस्था मिलाइएको छ । गाउँपालिकाले खर्बाङका विभिन्न स्थानहरुमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । वडा कार्यालयमा हात धोएर मात्रै भित्र पस्ने व्यवस्था गरिएको छ भने हेल्थ डेक्स सञ्चालन भएको स्थानमा पनि सावुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।
(गाउपालिकाका अध्यक्ष मेहरसिंह पाइजासँग गरिएको कुराकानीमा आधारित)

बरेङ गाउँपालिका
विश्वभर फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बच्नका लागि हामीले गाउँपालिकामा उच्च सर्तकता अपनाएका छौं । हाल सम्म गाउँपालिकामा कुनै संक्रमणको आशंका छैन । सरकारले लागु गरेका सबै नियम कानुनहरु पालना गर्नका लागि आम सर्वसाधरणलाई आव्हान गरेका छौं । गाउँ–गाउँमा माइकिङ गर्ने कटुवालहरुलाई सूसुचित गर्न लगाएका छौं । फूर्सदको समयमा जुवा तास खेल्ने, खसी बाख्रा काट्ने लगायतका गतिविधिलाई रोक लगाएका छौं । यस्तै बरेङ गाउँपालिकाको–३ को नयाँ बजारमा हेल्थ डेक्स स्थापना गर्ने गाउँपालिकाको तयारी छ ।
(गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मासँग गरिएको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *