धौलागिरी अस्पतालमा प्रयाप्त पीपीई,परीक्षणको असुरक्षा हट्यो

साधना पन्त, बागलुङ

कोरोना भाइरसको संक्रमणको जोखिमका बीच उपचारमा खटिने धौलागिरी अञ्चल अस्पतालका लागि मंगलबार ५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) ल्याइएको सूचना सार्वजनिक भएको थियो ।

तर, उक्त सामग्री अपुर्ण रहेको अस्पतालका चिकित्सकले गुनासो गरेका थिए । गण्डकी प्रदेशको सहयोगमा अञ्चल अस्पतालका लागि पठाइएका पाँच थान पीपीई मध्ये तीन थान सामाग्री अपूर्ण रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डन्ट डा. शैलेन्द्र बि पोखरेलले आदर्श अनलाइनलाई बताए । ‘कुनै सेटमा आइ सिल्ड छैन, कुनैमा सेनिटाईजर छैन, कुनैमा बुट छैन‘ पोखरेलले भन्नुभयो, ‘हामीसँग यहाँ भएका सामाग्री थपेर प्रयोग गर्न मिल्ने बनाएका छौं ।’ यद्यपी अत्यावश्यकीय कोरोनाका शंकास्पद बिरामीलाई परीक्षण गर्दा प्रयोग गरिने गरि राखिएको र अहिले स्थानीय स्तरमा तयार प्लाष्टिकका पीपीई प्रयोग गरेर काम चलाइएको छ ।

शुक्रबार मात्रै चौधरी ग्रुपले १० थान थप पीपीई उपलब्ध गराए पछि अञ्चल अस्पतालको अप्रयाप्तता र चिकित्सकको असुरक्षित भएर परीक्षण गर्नुपर्ने जोखिम र बाध्यता हट्ने भएको छ । ‘अहिले कोरोनाका शंकास्पद बिरामीहरु आइशोलेसनमा छैनन्, होम क्वारेन्टाइनमै बस्न भनिएको छ, डा.पोखरेलले भन्नुभयो,‘त्यस्तो अवस्था आए माथिबाट पठाइएका पीपीई प्रयोग गरिनेछ । अब पीपीईका कारणले कुनै पनि जोखिमयुक्त बिरामीको परीक्षण र उपचार रोकिने अवस्था छैन ।’

विश्वकै लागि कठिन परिस्थिति भए पनि गण्डकी प्रदेशमा कोरोना संक्रमणको हिसाबले बागलुङ जिल्ला अति संवेदनशिल देखिएकाले सबैलाई घरमै सचेत र सुरक्षित रहन अस्पतालले आग्रह गरेको छ । ‘कोरोनाको संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाए घर भित्र बस्नु नै हो’ पोखरेल भन्नुहुन्छ, ‘तर नागरिकहरु अझै पनि परिस्थितीको संवेदनशिलतामा गम्भिर देखिएका छैनन्, यसले देशकै लागि ठुलो दुर्घटना हुन सक्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *