संक्रमित किशोरीको अवस्था सामान्य,घरमै सेल्फ क्वारेन्टाइनमा

आदर्श अनलाइन,बागलुङ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी एक १७ वर्षीया किशोरीलाई सेल्फ क्वारेन्टाइनमै राखिने भएको छ ।

कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि काठमाण्डौं लैजाने तयारी गरिए पनि अन्ततः किशोरीको अवस्था सामान्य भएकाले घरमै सेल्फ क्वारेन्टाइनमै राख्ने व्यवस्था गर्न निर्देशन दिइएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका निर्देशक बिनोदबिन्दु शर्माले बताए ।

यद्यपी भोलीका दिनमा थप अवस्था र गाम्भिर्यता हेरेर पोखरा या काठमाण्डौ पठाउन सकिने अस्पतालले जनाएको छ । धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य कार्यालयको निर्देशन अनुसार चिकित्सकको निगरानीमा सेल्फ क्वारेन्टाइनमै राखिएको बताए । ‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ डा.पोखरेलले भने, ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा दैनिक रिपोर्ट लिन्छौ, परिवारका सदस्यलाई यसअघि नै सेल्फ क्वारेन्टाइनमा बस्न भनिसकेका थियौ, त्यस्तो लक्षण समस्या देखिए परिवारका सदस्यको पनि स्वाब परीक्षण गर्नेछौ ।’

गत चैत्र १२ गते बागलुङ नगरपालिकाको बिशेष पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरिएको थियो । ती युवतीले शुरुमा आँफुलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षण समेत गर्न उनले आनाकानी गर्दै आएकी थिइन् । नमुना संकलन गरेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाइएको स्वाब परीक्षणमा शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बेल्जियमा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाण्डौकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरी सहित अन्य तीन जनाको समेत खोजी भएको थियो । त्यही क्रममा केहि दिन पहिले ज्वरो आएकाले परीक्षणका लागि नमुना लिइएको थियो ।

यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । जस मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *