पहिलो कुरा, कोरोनाले विश्व आंतिकत छ । चीन पछि इटाली, अमेरिका लगायतका देशमा भयावह छ । सौभाग्यवस नेपालमा संख्यात्मक रुपमा कोरोना संक्रमण कम देखिएको छ । तर, बिस्तारै विदेशबाट आएकाहरुबाट यो भुसको आगो झै सल्किरहेको पछिल्ला घटनाक्रमहरुले देखाएको छ । बागलुङ कुँडुलेकी किशोरीको घटना पनि यसकै निरन्तरता हो । यो प्रकरणको एक साताको पृष्ठभुमी हेर्दा कोरोना संक्रमणमा बागलुङ गण्डकी प्रदेशको इपिसेन्टर बन्ने देखिन्छ । यसलाई कदापी नजर अन्दाज नगरौ । स्थानीय सरकारदेखि सरोकारवाला सबै अहिलेको सामान्य अवस्थासँगै भोली इटालीमा जस्तो आउन सक्ने कहाली लाग्दो जोखिमको अवस्थालाई समेत ध्यानमा राखेर प्रतिकुलताका बीचमा पनि चुस्त व्यवस्थापन गर्न सकिने गरी योजना बनाऔ, तयारी गरौ ।
दोस्रो कुरा, बागलुङकी संक्रमित किशोरीको अवस्था त अहिले सामान्य छ । चिकित्सकका अनुसार पनि उनी छिट्टै स्वश्थ बन्ने सम्भावना छ । तर, उनी काठमाण्डौंमा उत्रिएर कहाँ बसिन् ? कहाँ कहाँ गइन् ? उनीसँगै काठमाण्डौबाट पोखरामा कुन बिमानमा आए ? त्यसमा भएका यात्रुहरुको जरुरी खोजी र पहिचान गरौ । त्यसपछि पोखराबाट बागलुङ बजार सम्म स्र्कापियोमा आएका यात्रुहरु खोजी गरौ । त्यस यताका उनका भेटघाटहरु, उनले निकट रुपमा भेटेका मान्छेहरुले अरु तमाम भेटेका मान्छेहरुको पनि खोजी गरेर सेल्फ क्वारेन्टाइनमा राखौ । लक्षण देखिदाँ साथ परीक्षण गरौ । निगरानीमा राखौ ।
तेस्रो कुरा, हाम्रो तयारी जतिसुकै फुलबुट्टाहरु भरेर भनिए पनि व्यवस्थापन फितलो छ । व्यवस्थापन चुस्त छैन । अहिले सम्म आइशोलेसन होस् या क्वारेन्टाइन । परीक्षण होस् उपचार । यो सामान्य अवस्थामा त ठीकै देखिन्छ । अवस्था केही जटिल बन्न साथ अहिले गरिएको तयारी केहि गरिएको रहेनछ भन्ने ठाउँमा हामीलाई पु¥याउने निश्चित छ । धौलागिरी अस्पतालले शनिवार राति कोरोना संक्रमण भएको बिरामी आइशोलेसनमा राख्न हिच्किचाहट गरेको दृश्यले केहि संकेत गरेको छ । यसको अन्र्तवस्तु र गुह्य कुरा बुझ्ने हो भने मात्र पनि अबको तयारी र व्यवस्थापन चुस्त बनाउन मद्धत पुग्नेछ । गाउँ गाउँका क्वारेन्टाइन भनेका त्यहाँ शंकास्पद कोही एक जना बिरामी भेटिए त्यहाँ पनि कति भयग्रस्त परिवेश बन्छ ? अहिले कल्पना गर्दा हतारो हुन सक्छ । तर योजना तयार गर्दा त्यो बिषयलाई गौण ठान्यौ भने त्यसको मुल्य महंगो पर्न सक्छ ।
चौथो कुरा, अहिले सबै भन्दा बढि चुनौति र जोखिमको सामना स्वाथ्यकर्मीले गरिरहेका छन् । अहिलेको कर्म पेशागत जिम्मेवारी त हुँदै हो, त्यो भन्दा बढि मानविय धर्म र संवेदना सहितको सत्कर्म हो । यस्तो कर्मको हाम्रा शव्दहरुले जति नै धन्यवाद टक्राए पनि अपुरो हुन्छ । तर, चिकित्सकहरु आफ्नै सुरक्षाका कारण बेला बेलामा कोरोनाका शंकास्पद र संक्रमणका बिरामीको उपचारमा बाहनाबाजी र आनाकानी गरेको खबर सार्वजनिक भइरहेकै छ । धौलागिरी अस्पतालमा अहिले पीपीई प्रयाप्त छ । तर, अहिले फेरी आइसियूको कुरा आइरहेको छ । अब आइसियू नै भएको अस्पताल खोज्ने हो र अवस्था केहि भयावह बन्यो भने बिरामी कहाँ जाने ? कसले उपचार गर्ने ? आखिर डाक्टरहरु पनि मानिस नै हुन् । आफ्नो ज्यानको माया त सबैलाई लाग्छ । तैपनी, जति सक्दो चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रयाप्त सामग्री सहित सुरक्षित बातावरण बनाऔ । स्वाथ्यकर्मीको मनोबल बढाउन जुटौ । किनकी यो बिषय सामान्य अवस्था इतरको परिस्थितिमा सोचनीय छ ।
पाँचौ कुरा, अहिले देश लकडाउन छ । यो लक डाउन अझ एक साता अघि नै हुन्थ्यो र बिदेशबाट आएकाहरुलाई बिशेष निगरानीमा होम क्वारेन्टाइनमै मात्र राख्न सकेको भए धेरै सुरक्षित अवस्था हुन सक्थ्यो । तर, अहिले संख्याका हिसावले कम देखिए पनि कोरोना संक्रमण जोखिमका हिसावले उच्च जोखिमको अवस्थामा नेपाल र नेपाली छौ । अहिले कोरोना परीक्षणको दायरा थोरै र साँघुरो छ । जसका कारण परीक्षण हुने र तथ्यांकमा पनि कम छ । तर, परीक्षणको दायरा बढाउने हो र संक्रमित भएकाहरु सँग निकट रहनेहरु सबैको खोज पहिचान गरेर परीक्षण गर्ने हो भने कोरोनामा हामी कति जटिल अवस्थामा छौ भन्ने बल्ल प्रष्ट देखिन्थ्यो । परीक्षण गर्ने राजधानी केन्द्रित हुँदा शंकास्पद नागरिक निद्रा हराम गरेर घर सेरोफेरोमै कैद छन् । उनीहरुलाई यति चाही थाहा हुनुपर्छ–‘रोग लुकाउनु भनेको आफ्नै मृत्युको दिनगन्तीमा बस्नु जस्तै हो ।’
छैठौ कुरा, छ दिनदेखि हामीलाई सरकारले घर भित्रै बस्न बनेको छ । यद्यपी, अत्यावश्यक अवस्थामा बाहेक पनि सडक चोकमा घुम्ने, गाउँ शहरमा साथीभाई जम्मा भएर जुवा तास खेल्ने, भोज, खानपान गर्ने क्रम पनि विकृत रुपमा बढ्दो देखिन्छ । विदेशबाट आएकाहरु गाउँ घुम्दै भेटघाट गर्दै हिडिरहेका छन् । यो सामान्य जोखिमको बिषय होइन । यो सन्दर्भमा हेक्का राख्नुपर्छ कि आज इटालीमा परिवारको सदस्य मृत्यु हुँदा दाह सँस्कार गर्न नपाइने, गम्भिर अवस्था रहेका बिरामीलाई हेर्न समेत नपाइने दर्दनाक अवस्था हामीकहाँ पनि आउन सक्छ । यसबाट जोगिने एउटै सहज उपाय भनेको घरमै होम क्वारेन्टाइनमै बस्ने हो । घर भित्रै बसौ, सुरक्षित रहौ । बिदेशबाट आएकाहरुको बढि निगरानी राखौ । कुनै लक्षण देखिए सम्बन्धित निकायमा सूचना दिऔ । तपाईको सानो सूचनाले कोरोना संक्रमणको भयावह फैलिन रोक्न पनि सक्छ ।