फ्लो अपः के गर्दैछन् कोरोना रोक्न बागलुङका स्थानीय सरकार ?

डम्मर बुढा मगर, बागलुङ

यतिबेला विश्वव्यापी कोरोना संकटको सकस छ । नेपाल पनि कोरोना संक्रमण रोक्न पाँच दिन देखि लक डाउन छ । लक डाउन पूर्व भारत लगायतका देशबाट आएका नेपाली अधिकाशं गाउँघरमा पुगेका छन् । अहिले सबै भन्दा कोरोना संक्रमणको जोखिम तीनै व्यक्तिहरुबाट देखिएको छ । तर, गाउँघरमा तिव्र जोखिम बढिरहदा बागलुङका १० स्थानीय तहले के गरिरहेका छन् ? आदर्श अनलाइनले स्थानीय तहको यसपूर्व पनि बिशेष खोज सामग्री तयार गरेको थियो । अहिले थप तयारी, प्रगति र चुनौतिका बारेमा बिशेष फ्लो अप गर्ने प्रयास गरेका छौ ।–सम्पादक

ढोरपाटन नगरपालिका

को
रोना भाइरस संक्रमण रोक्नको लागि ढोरपाटन नगरपापलिकाले क्वारेन्टाइन निर्माणदेखि विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क संकलनलाई तिव्रता दिएको छ ।

नगरपालिकाले बुर्तिबाङ बजारमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ । हाल नगरपालिकाले विद्यालयको ५ वटा कोठामा क्वारेन्टाइन निर्माण गरेको छ भने कोरोनाको जोखिमलाई हेरेर थप निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो ।
नगरपालिकाले विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न वडा अध्यक्ष मार्फत निर्देशन दिएको छ ।

नगरपालिका भित्र हालै मात्रै २१ जना विदेशबाट आएकाहरुको बिवरण संकलन भएको पोखरेको भनाई छ । उनीहरुलाई समाजमा अरु मानिससँग घुलमिल नहुन र सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

नगरपालिकाले बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराई सकेको छ । हाल नगरपालिकाले १० थान पीपीई लिएर ४ वटा ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई र ६ वटा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराएको छ भने अझै ५० थान ल्याउने तयारी गरेको छ ।
नगरपालिकाले कोरोना जोखिम न्यूनिकरणको लागि ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । कोरोना रोकथामकै लागि भनेर नगरपालिकाले राहत कोष स्थापना नगरे पनि नगर सभाले विपत व्यवस्थापन कोष बनाएर छुट्याएको ४० लाख रुपैयाँ यसको लागि प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो ।

गलकोट नगरपालिका

गलकोट नगरपालिकाले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभिन्न योजना बनाएर लागेको छ ।

नगरपालिकाले क्वारेन्टाइन निर्माणदेखि गाउँ–गाउँमा पुगेर विदेशबाट आएकाहरुको बिवरण संकलन गरिरहेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाले १२ वटा क्वारेन्टाइन निर्माण गरेको छ । अहिलेसम्म क्वारेन्टाइनमा कोही पनि छैनन् ।
चैत महिनामा विदेशबाट आएकाहरु तथ्याङ्क संकलन गरी वडा अध्यक्ष मार्फत होम क्वारेन्टाइनमा बस्न निर्देशन भइरहेको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । विभिन्न देशहरुबाट चैत महिनामा १ सय २८ जना गलकोट भित्रिएको नगरपालिकाले जनाएको छ ।

भाइरस संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मध्यनजर गरी नगरपालिकाले पीपीई र सर्जिकल माक्स समेत उपलब्ध गराएको छ ।

नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थामा ८ सय ५० स्यानीटाइजर वितरण गरि सकेको छ । नगरपालिकाले पालिका भित्र रहेका अति विपन्न परिवारहरुको विवरण समेत संकलन गरेको नगरपालिकाले जनाएको छ । एकिन बिवरण संकलन पश्चात उनीहरुलाई केही राहत उपलब्ध गराइने छ ।

कोरोना रोकथामको लागि गलकोट नगरपालिकाले २० लाख कोष पनि स्थापना गरेको छ ।

जैमिनी नगरपालिका

जैमिनी नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाएको छ ।

पालिकाले विदेशबाट आएका नागरिकहरुको बिवरण संकलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लागएको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । उहाँको अनुसार विदेशबाट ८० जना जैमिनी भित्रिएका छन् ।

नगरपालिकाले कुस्मिशेरा बजारमा १० शैयाको क्वारेन्टाइन समेत निर्माण गरेको छ । आवश्यकता अनुसार यसको संख्या बढाउन सस्क्ने उहाँले बताउनुभयो । नगरपालिकाले कोरोना रोकथामको लागि नगरपालिको विपत व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ छुट्याएको पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिका

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि बागलुङ नगरपालिकाले बजारको मुख्य चोक–चोकमा किटनासक औषधी छर्केको छ ।

नगरपालिकाले बढि आवत जावत र जमघट हुने स्थानमा कीटनाशक औषधी छर्किएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

बानपा-१ रामरेखा स्थित रामरेखा आधारभूत विद्यालयमा २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।
केहि दिन अगाडी देखि जिल्लाको प्रवेशद्धारको रुपमा रहेको मालढुंगामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरि ज्वरो मापन गरिएको छ ।

नगरपालिकाले विदेशबाट आएकाहरुको बिवरण संकलन गरि उनीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न पनि लगाएको खनालको भनाई छ । लक डाउन पूर्व मात्रै बागलुङ नगरपालिका भित्र एक सय बढी नागरिकहरु विदेशबाट आएको उहाँको भनाइ छ ।

नगरपालिकाले बजार क्षेत्रमा काम गर्ने मजदुर, बिपन्नलाई निशुल्क दिवा खानाको व्यवस्था समेत गरेको छ । उनीहरुलाई धौलागिरी बहुमुखी क्याम्पस प्रांगणमा प्याकिङ खाना प्रदान गरिएको छ ।

तमानखोला गाउँपालिका

तमानखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि आवश्यक तयारी गरिरहेको छ ।

गाउँपािलकाले जनजागृति माध्यमिक विद्यालय बोङ्गादोभानमा ७ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । जनतालाई कोरोनाबाट बच्ने उपायका विषयमा जनचेतनामुलक सामग्री प्रस्तुत तथा गाउँगाउँमै पुगेर माईकिङ समेत गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

पालिकाले वडा–वडामा पुगेर विदेशबाट आएका नागरिकहरुको बिवरण संकलन गरेको छ । र उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ । हालै भारतबाट आएका चार जनालाई बिशेष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

कसैलाई भाइरस संक्रमणको शंका लागेमा उपचारको लागि हस्पिटल पु¥याउनका लागि ३ वटा गाडी तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।

गाउँपालिकाले कोरोभाना भाइरस रोकथामकै लागि भनेर कोष स्थापना गरेको छैन । तर गाउँ सभाबाट स्थापना भएको विपत व्यवस्थापन कोषमा रहेको १२ लाख यसको लागि प्रयोग गर्ने उहाँले बताउनुभयो ।

ताराखोला गाउँपालिका

ताराखोला गाउँपालिकाले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।

गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरि १० वटा क्वारेन्टाइन निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगरले जानकारी दिनुभयो । पालिकाका गाउँ–गाउँमा सचेताना फैलाउँदै माइकिङ गर्ने काम भइरहेको छ ।

हालै विदेशबाट ताराखोला भित्रिएका २२ जनालाई होम क्वारेन्टाइनमै बस्न लगाइएको छ ।
गाउँपालिकाले कोरोना भाइरस रोकथामकै लागि भनेर कोष स्थापना नगरेको भए पनि गाउँ सभाबाट स्थापना भएको विपत व्यवस्थापन कोषमा रहेको ५ लाख रुपैयाँ यसको लागि प्रयोग गर्ने बताउनुभयो ।

निसीखोला गाउँपालिका

कोरोना भाइरस रोकथामको लागि निसीखोला गाउँपालिकाले विदेशबाट आएका नागरिकहरुको बिवरण संकलन तथा क्वारेन्टाइन निर्माण गरेको छ ।

गाउँपालिकाले हालै मात्र विदेशबाट आएका नागरिकहरुको बिवरण संकलन गरि उनीहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले ७ वटै वडामा जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीको टोली परिचालन गरी विदेशबाट आउनेको तथ्यांक संकलन समेत गरिएको छ ।

पालिकाले देविस्थान माध्यमिक विद्यालय देविस्थान र प्रभा माध्यमिक विद्यालय झिवाखोलामा दुई-दुई शैया सहितको क्वारेनटाइन तयार गरिएको छ । हाललाई जम्मा चार वटा मात्र क्वारेनटाइन स्थल निर्माण भइसकेको र आवश्यक परेको खण्डमा तत्काल निर्माण गर्न सक्ने गरी तयारी रहेको उहाँको भनाई छ ।
पालिकाले फाल्गुन महिनादेखि निसीखोला भित्रिएका नागरिकहरुको तथ्यांक संकलन गरेको छ । जस अनुसार वडा नम्बर १ मा ९ जना, २ मा ८ जना, वडा नम्बर ३ मा १९ जना, वडा नम्बर ४ मा १२, ५ मा २९ जना र वडा नम्बर ७ मा १० जना रहेको पाइएको छ । वडा नम्बर ६ को बिवरण आउन बाँकी छ ।
गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि गाउँ सभाबाट विपत व्यवस्थापन कोषमा छुट्याइएको १० लाख रुपैयाँले आवश्यक सामाग्री खरिद गर्ने काम भईरहेको अध्यक्ष पौडेलको भनाई छ ।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाले पनि कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रत्येक वडामा क्वारेन्टाइन तयार गर्ने कार्य जारी छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वडा–वडामा ६/६ शैयाको क्वारेन्टाइन निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको अध्यक्ष थापाले बताउनुभयो । विदेशबाट वडा नम्बर १ मा ४, नम्बर २ मा ५, नम्बर ३ मा ५, नम्बर ४ मा ४ जना, नम्बर ५ र ६ मा १५ जना, नम्बर ७ मा ४ जना र वडा नम्बर ८ मा ९ जना गरि ४६ जना विदेशबाट आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अति विपन्न दैनिक ज्याला मजदुर गरेर जिविका चलाइरहने श्रमिक मजदुरका परिवारलाई तत्काल राहत स्वरुप हरेक वार्डमा बिवरण संहलन तथा पहिचान गरि खाद्यान्न सामग्री बितरण गरेको छ ।

कोरोना रोकथामका लागि गाउँपालिकाले सबै कार्यपालिका सदस्यहरुसँग छलफल गरेर ‘कोरोना रोकथाम कोष’ समेत स्थापना गर्ने अन्तिम तयारी छ ।

बडिगाड गाउँपालिका
बडिगाड गाउँपालिका कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरेर विदेशबाट आएका नागरिकहरुको डाटा संकलन गरि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

पालिकाले हालै मात्र बडिगाडमा विदेशबाट आएका १ सय ३४ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

पालिकाले हालसम्म क्वारेन्टाइन निर्माण गरेको छैन । क्वारेन्टाइन निर्माणको लागि सरसामानको व्यवस्थापन भने गरेको छ । अहिले आवश्यक सामग्री जुटाएर राखिएको र जुन ठाउँमा समस्या पर्छ त्यही ठाउँमा क्वारेन्टाइन बनाइने गाउँपालिकाका सूचना अधिकारी थमन रेश्मीले बताउनुभयो । ‘हामीले एकातिर क्वारेन्टाइन बनाउने, अर्को तिर समस्या भयो भने गाह्रो हुन्छ, त्यसैले हामीले जहाँ समस्या हुन्छ त्यही स्थानमा बनाउने योजना बनाएका छौँ ।’ यद्यपी, बडिगाड गाउँपालिका वडा नम्बर ७ ले भने कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी भिमगिठे माध्यमिक विद्यालयमा १२ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । वडा अध्यक्ष कृष्ण गुरुङका अनुसार, विद्यालयमा ५ वटा सामान्य र ७ वटा विषेश क्वारेन्टाइन बनाइएको छ ।

कोरोना रोकथामका लागि कुनै कोष स्थापना नगरे पालिकाको अन्य कोषबाट १० लाख रुपैयाँ प्रयोग गर्ने गाउँपालिकाको तयारी छ ।

बरेङ गाउँपालिका
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि बरेङ गाउँपालिकाले १० लाख रुपैयाँको ‘कोरोना रोकथाम कोष’ स्थापना गरेको छ ।

गाउँपालिकाले यो सँगै दुई स्थानमा ३० शैयाको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर २ को नयाँ बजारको जनता प्राथमिक विद्यालयमा १० शैया र वडा नम्बर २ को सर्वोदय माध्यमिक विद्यालयमा २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । जनता प्राथमिक विद्यालय नयाँ बजारको क्वारेन्टानमा चार जनालाई राखिएको उहाँको भनाई छ । उनीहरु हालै भारतबाट आएको हुँदा क्वारेन्टाइनमा राखिएको अध्यक्ष शर्माले बताउनुभयो ।

गाउँपालिकाले गाउँ–गाउँमा पुगेर विदेशबाट आएकाहरुको बिवरण समेत संकलन गरेको छ । हाल सम्म ३८ जना विदेशबाट आएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *