संक्रमित किशोरी सहित ११ जनाको स्वाब परीक्षणमा पठाइयो

आदर्श अनलाइन, बागलुङ

संक्रमित फेला परे सँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङबाट एकै साथ ११ जनाको स्वाब परीक्षणका लागि सोमवार काठमाण्डौ पठाइएको छ ।

संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीको दोस्रो पटक स्वाब परीक्षणका लागि काठमाण्डौ पठाइएको छ भने उनका परिवारका ५ जना, सँगै यात्रा गरेका एक बृद्धा र उनलाई लिन गएका एक जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए ।

यसका साथै एकै विमानमा आएका जिल्लाकै ढोरपाटनका एक युवक, बागलुङ नगरपालिकाका अर्की महिला र उनका नातेदारको नमुना संकलन गरेर पठाइएको हो । ‘संक्रमित किशोरीको दोस्रो पटक परीक्षणका लागि पठाएका छौ,अहिले धेरै सुधार भएको छ,’ डा.पोखरेलले भने,‘दोस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आउनेमा हामी धेरै आशावादी छौ ।’

संकलित स्वाबको नमुना लिनका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयबाट एम्बुलेन्स पठाइएको र त्यो मंगलबार काठमाण्डौ पठाइने निर्देशक बिनोद बिन्दु शर्माले आदर्श अनलाइनलाई बताए ।

गत चैत्र ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएका थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाण्डौंकी १९ बर्षिया युवतिलाई कोरोना संक्रमण पुष्टि भए पछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका यि किशोरीलाई पनि सामान्य ज्वरो समेत देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाइएको स्वाब परीक्षणमा किशोरीमा शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सोही विमानमा आएका बागलुङ ढोरपाटनका युवाको पनि स्वाब परीक्षणमा पठाइएको छ भने अर्का एक महिलाको अवस्था भने अहिले सामान्य छ । उनीहरु अहिले होम क्वारेन्टाइनमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *