कहाँ छन् ? संक्रमितसँगैको भीडबाट आएका बागलुङका तीन जना

आदर्श अनलाइन, बागलुङ

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षित स्थानको खोजी गर्दै नेपालको गौरीफन्टा नाका हुँदै गत चैत्र १० गते हजारौं प्रवासी सहित नेपाल भित्रिएका बागलुङका ७ जना मध्ये तीन जनाको खोजी शुरु भएको छ ।

गौरीफन्टा नाकाको त्यही भिडमा रहेका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै त्यो भिडमा रहेकाहरुमा सबै कोरोना संक्रमणको जोखिममा परेका छन् । उक्त भीडमा बागलु जिल्लाका पनि ७ जना रहेको सूचना सार्वजनिक भएको छ । त्यसमध्ये ४ जना पाल्पाको क्वारेन्टाइनमा केहि दिनको बसाई पछि बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सर्वोदय माविमा तयार गरेको क्वारेन्टाइनमा छन् । उनीहरुलाई आज १४ दिन पुगेकाले घर पठाउने तयारी भए पनि संक्रमित सँगैको भीडबाट आएकाले थप केहि दिन राख्ने निर्देशन आएको गाउँपालिका अध्यक्ष कृष्ण पौडेलले बताए ।

तर, अरु तीन जना कहाँ छन् ? होम क्वारेन्टाइनमै छन् या खुलेआम गाउँ हिडिरहेका छन् ? त्यसबारे सिंगो जिल्लाका सम्बद्ध निकाय बेखवर छ । भारतबाट आएका ती व्यक्तिहरुको खोजी गर्न पहल र दबाब शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले भारतबाट आएका भनिएकाहरुको खोजी र पहिचानका लागि प्रयास भइरहेको बताए । ‘भारतबाट आएका ४ जनालाई पाल्पा क्वारेन्टाइनमा राखिएको थियो, उनीहरुलाई बरेङ गाउँपालिकाले अहिले क्वारेन्टाइनमै राखिरहेको छ,’ प्रहरी प्रमुख भट्टले भने, ‘त्यसबाहेक भारतबाटै आएका अरुको स्थानीय तहसँग समन्वय गरेर बुझ्ने प्रयासमा छौ ।’

स्वास्थ्य मन्त्रालयले शनिबार कञ्चनपुरका ४१ वर्षीय पुरुष, कैलालीका २१ वर्षीय युवक र कैलालीकै ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक चैत १३ गते कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए । यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए । २१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा हुन् । ती तिनैजनाको उपचार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *