बागलुङका स्थानीय तहका कोरोना कोष,छैन उत्साहजनक सहयोग

सिर्जना पन्त, बागलुङ

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहले कोष स्थापना गरेका छन् ।

अधिकांश स्थानीय तहले बिज्ञप्ती मार्फत सार्वजनिक रुपमा कोषमा सहयोगका लागि अपिल समेत गरेका छन् । तर, अहिले कोषमा उत्साहजनक सहयोग प्राप्त भएको देखिन्न ।

गण्डकी प्रदेश सरकारले नगरपालिकाले स्थापना गरेको कोषमा १० लाख र गाउँपालिकाको कोषमा ५ लाख रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।

बागलुङका १० वटै स्थानीय तहले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर आफैले न्यूनतम १० देखि ५० लाख रुपैयाँ सम्मका कोष स्थापना गरेका छन् । स्थानीय सरकारले कोष स्थापना गरे संगै अन्य संघ संस्था र व्यक्तिलाई आफुले स्थापना गरेका कोषमा सहयोग गर्न अपिल गरे पनि अहिलेको विश्वव्यापी समस्याका कारण उत्साहजनक सहयोग प्राप्त नभएका जनप्रतिनिधि स्वीकार गर्छन् ।

बागलुङको काठेखोला गाउँपालिकाले स्थापना गरेको कोषमा अहिले सम्म सबैभन्दा धेरै रकम जम्मा भएको छ । गाउँपालिकाको कोषमा अहिले सम्म ४ लाख २५ हजार ५ सय रुपैया जम्मा भएको छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले ५० हजार, लण्डनमा बसोबास रहेका काठेखोला गाउँपालिकाका रत्न थापा मगरले ५० हजार, महेन्द्र केसीले ५० हजार, दिर्घ केसीले ५० हजार, ढालिन्द्र केसीले ५० हजार, बेलायतमा बसोबास रहेका भक्त बहादुर थापाले ५० हजार, युवराज थापाले ५० हजार, राजु थापाले ५० हजार र बिवाइसी बागलुङले २५ हजार ५ सय रुपैया सहयोग गरेको गाउँपालिका प्रमुख अमर थापाले जानकारी दिनुभयो ।

जिल्लाको बागलुङ नगरपालिकामा हाल सम्म आदर्श सञ्चार सहकारी संस्थाले ५० हजार र जिल्लाका व्यापारीहरुले १ लाख २० हजार बाहेक अन्य सहयोग प्राप्त हुन सकेको छैन । गलकोट नगरपालिकाको कोषमा हाल सम्म गलकोट बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार र वडा नम्बर ९ का वडा अध्यक्ष तेजबहादुर थापाले ५ हजार रुपैया जम्मा भएको छ । बडिगाड गाउँपालिकाले स्थापना गरेको कोषमा अहिले सम्म शिखर हाइड्रोपावर भिमखोलाले मात्र १ लाख रुपैया जम्मा गर्ने घोषणा गरेको छ । बरेङ गाउँपालिकाको कोषमामा महेश चालिसेले ५ हजार रुपैया सहयोग गर्नुभएको छ ।

यसबाहेक जिल्लाको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाले स्थापना गरेका कोषमा अहिले सम्म कुनै पनि व्यक्ति र संघ संस्थाको सहयोग गरेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिकाले कोषमा सहयोगका लागि अपिल नगर्ने उद्घोष गरेको छ । स्वयम् स्थानीय सरकार आफैले सहयोग गर्ने र यसमा आवश्यक पर्दा आफ्नो व्यक्तिगत तर्फबाट समेत अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सहयोग गर्ने मेयर देवकुमार नेपालीले बताउनुभयो ।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विदेशमा रहेका नेपालीहरुको अर्थतन्त्रमा समेत असर परेकाले सोचे जस्तो सहयोग प्राप्त हुन नसकेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा बताउनुहुन्छ । ‘अहिले हामी मात्र समस्यामा छैनौ, वैदेशिक रोजगारीमा रहेका, यहि पनि व्यापार व्यवसाय गर्नेहरुलाई ठुलो आर्थिक मार परेको छ’, थापाले भन्नुभयो ‘जिल्लाभरमा हाम्रो कोषमा केही सहयोग प्राप्त भइरहेको छ, आज व्यक्तिगत रुपमा सानो देखिएको समस्याले दिर्घकालिन रुपमा ठुलो असर पर्न सक्ने भएर चाहेर पनि मानिसले हामीलाई सहयोग गर्न सकेका छैनन् ।’ जिल्लामै धेरै रेमिट्यान्स भित्रिने स्थानीय तह मध्येको काठेखोलामा अहिले यतैबाट विदेशमा रहेका आफ्न्तलाई पैसा पठाउनुपर्ने अवस्था सिर्जना हुन थालेको अध्यक्ष थापाको भनाई छ ।

अप्ठ्यारो परिस्थितिमा नागरिक प्रतिको जवाफदेहिता राज्यको भएको भन्दै जनताले सहजै सहयोग नगरेको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । ‘अहिले जनता आफै समस्यामा छन्, राज्यलाई नैतिक रुपमा सहयोग गर भने पनि आर्थिक रुपमा सहयोग गर भन्ने अवस्था छैन’ नगर प्रमुख पौडेलले भन्नुभयो, ‘सरकार आफैले जनताको घर घरमा पुगेर सहयोग गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *