बागलुङ कारागार: न सामाजिक दुरी, न सुरक्षा कवच

डम्मर बुढा मगर, बागलुङ

जिल्ला कारागार बागलुङमा ५० जना कैदीबन्दी राख्ने क्षमता छ । ५० जनाको क्षमता भएको कारागारमा हाल ३ नाबालक सहित १ सय २१ जना कैदीबन्दी छन् ।

सामाजिक दुरी कायम गर्नुपर्ने कोरोना संकटको कठिन घडीमा क्षमता भन्दा करिब तेब्बर बढी कैदी बन्दी रहेको कारागारको हालत कस्तो होला ? त्यो सहजै अनुमान गर्न सकिन्छ ।

विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउन पश्चात कारागारमा रहेका कैदिबन्दीलाई प्रत्यक्ष असर परेको छ ।
उनीहरुको दैनिक क्रियाकलापदेखि पारिवारिक तथा आफन्तसँगको भेटघाट पनि रोकिएको छ । त्यो सँगै सरकारले यो समय कुनै पनि गतिविधि गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने निर्देशन दिएको छ । तर कारागार बागलुङमा सामाजिक दुरी कायम गर्ने सम्भावनै छैन ।

महिला र पुरुषको लागि गासबासको व्यवस्थापन धौ–धौ भएको अवस्थामा सामाजिक दुरी कायम हुन त टाढैको कुरा हो । शौच गर्न त समयमै नपाउने कैदिबन्दीहरुले सामाजिक दूरीको कसरी कायम राखुन् ?

यो समयमा कसैलाई स्वास्थ्य समस्या देखियो भने जय पशुपतिनाथ भन्नुको विकल्प छैन । बास, गास र कपासको कारागारमा जसोतसो व्यवस्थापन भए पनि उनीहरुको अन्य क्रियाकलापमा भने निकै प्रभाव परेको छ ।

कारागारमा अत्यधिक कैदिबन्दी हुँदा समयमै खान र शौच गर्न नपाएको एक कैदिबन्दीले बताए । उनले खाना खान र शौच गर्नको लागि पालो कुर्न पर्दा निकै गाह्रो हुने गरेको बताए । महिला बस्ने कारागारमा १० जना मात्रै रहेको हुँदा केही सहजता र सामाजिक दूरी कायम गर्न सकिए पनि पुरुषहरुकोमा भने त्यो सम्भव देखिदैन । ‘लकडाउन नहुँदा त आफन्तहरु भेटन आउनुहुन्थ्यो, अहिले त भेट हुन पनि पाइएको छैन,’ उनले भने ‘अहिले त अटेर लागेर आफन्त भेट्न खोज्दा पनि भेट्ने अवस्था छैन, अरु काम गर्ने पनि बजार बन्दले गर्दा सामान ल्याउन गाह्रो छ ।’

बागलुङ कारागारका प्रमुख मोहनप्रसाद उपाध्यायले उनीहरुलाई कोरोना संक्रमणबाट जोगाउनको निम्ति साबुन पानीले हात धुने व्यवस्था मिलाएको बताए । उनीहरुको दैनिक भेटघाट र अन्य क्रियाकलापहरु समेत रोकिएको बताए । कैदीबन्दीहरु भित्र सुरक्षित रहेको उनको भनाई छ । ‘अहिले हामीले उनीहरुको भेटघाटलाई रोकेका छौँ, बाहिरबाट कोही भट्न नजाँदा उनीहरु सुरक्षित छन्,’ उनले भने ‘भेटघाटलाई नरोकेको भए अलिकति समस्या हुन्थ्यो, अहिले त्यस्तो समस्या छैन ।’

कोरोनाको उच्च जोखिम बढेपछि सर्वोच्च अदालतले कैदीबन्दीको समय र उनीहरुको अपराधलाई हेरेर रिहाई गर्ने निर्णय गरेको थियो । त्यस अनुसार बागलुङमा दुई जनाले धरौटी दिएर रिहाइको लागि निवेदन गरेको कारागार प्रमुख उपाध्यायको भनाई छ । उक्त निवेदन अदालतमा पठाएको उनले बताए । अदालतले फैसला गरे उनीहरु कारागार मुक्त हुने उपाध्याय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *