लकडाउन खुल्यो ! ख्याल गर्नुस् उस्तै छ कोरोना जोखिम

आदर्श अनलाइन,बागलुङ

विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको जोखिम रोक्न देशमा जारी लकडाउन खुकुलो बनाउने निर्णयसँगै बागलुङ बजारमा चहल पहल बढेको छ ।

आइतवारदेखि उद्योग, कलकारखाना, विकास निर्माण योजनाका काम अघि बढाइएको छ भने बैंक तथा वित्तिय संस्था समेत खुल्न थालेका छन् । जसका कारण सदरमुकाममा सवारी साधनको चाप दिनभर बाक्लो देखियो । लकडाउनका बेला खाद्य सामग्री बोक्ने पिकअप गाडीहरु बाहेक अन्य सवारी साधन निकै कम सञ्चालनमा थियो । तर, आइतवार अन्य सवारी साधन, मानिसहरुको आवागमन पनि बाक्लो देखिएको छ ।

बजारमा अत्यावश्यकीय खाद्य सामग्रीका अतिरिक्त सरकारले खुलाउने सूचीमा नराखेका अन्य पसलहरु समेत खुलाइएका छन् । फेन्सी, कस्मेटिक, चिया पसलहरु खुलाइएको छ । लकडाउन खुकुलोसँगै बजारमा देखिएको मानिसहरुको भीड, चहल पहलले अहिले सम्म घर भित्रै बसेकाहरु अब कोरोना संक्रमणको जोखिममा देखिएको स्वास्थ्यकर्मी बताउँछन् । यो बिषयमा अन्य सामाजिक अगुवा, सचेत नागरिकहरुले पनि चिन्ता व्यक्त गरेका छन् । जैमिनीका देव शर्मा आचार्यले एकातर्फ लकडाउन जारी भन्ने र अर्को तर्फ खुकुलो बनाइएको घोषणा सहित बजारमा देखिएको भीड र चहल पहलले राम्रो संकेत र सन्देश नगएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य संगम घर्तिमगरले पनि उस्तै गुनासो व्यक्त गर्नुभयो । ‘लकडाउनको ४५ दिन भन्दा बढिको कर्मकाण्ड पछि मानिसहरु पुरानो दैनिकी तर्फ फर्कन थाले, तीनै तहको सरकार पछिल्लो अवस्था र सम्भावित जोखिम प्रति यथोचित सुरक्षा, सचेतता र नेतृत्वदायक पहल कदमीमा गम्भीर देखिएन,’ घर्तिले भन्नुभयो,‘सरकारले अब आफ्नो ज्यान आँफै जोगाउ भनेर छोडे होला जस्तो छ ।’

गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जिल्लाका संक्रमितहरु निको भएकाले जोखिम नरहेको भन्ने अवस्था नभएको बताउनुभयो । ‘देशभरको अवस्था हेर्दा जोखिम थप बढेको छ,यसमा अझै सुरक्षा सचेतता जरुरी छ’ उहाँले भन्नुभयो, ‘सामाजिक दुरी कायम गरेर नै सबै भन्दा प्रभावकारी तरिकाले संक्रमण रोक्न सक्छौ । यसका साथै कुनै बस्तु छोए अनिवार्य साबुन पानीले हात धुने, रुघाखोकी लागे अनिवार्य मास्क लगाउनुपर्छ । अन्य सरोकारवालाले दुरी कायम राखेर सेवा लिन दिन सक्ने बातावरण तयार गर्नुपर्छ ।’

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले पनि केन्द्र सरकारको निर्णयसँगै लकडाउन केहि खुकुलो बनाए पनि सबै सचेत बन्नुपर्ने बताउनुभयो । ‘अहिलेको खुकुलो अत्यावश्यकीय कामका लागि हो, अहिलेको संकट र जोखिमलाई सबै नागरिकले गम्भीरतापूर्वक लिनुपर्दछ’ प्रजिअ शैजुले भन्नुभयो, ‘हामी आँफै रोगी बन्ने, जोखिममा पर्ने विश्व समुदायलाई आतंकित बनाएको कोरोनामा अझै पनि खेलवाड नगरौ, जरुरी काम बाहेक यात्रा गर्ने, बजार हिँड्ने काम नगरेर सुरक्षित बन्नुहोस् ।’
आजको धौलागिरी जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *