कोरोना कहरबीच धौलागिरी क्याम्पसले चलायो अनलाइन कक्षा

साधना पन्त,बागलुङ

कोरोना संकट तिव्र बढे सँगै धौलागिरी बहुमुखी क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

पछिल्लो समय निकै चर्चा भएको अनलाइन कक्षा केहि चुनौतिका बाबजुद समय सापेक्ष भने देखिएको छ ।

धौलागिरी क्याम्म्पसमा अहिले बिबिएको पहिलो वर्ष र तेस्रो वर्षको सेमेस्टर, डिग्रीमा नेपाली शिक्षा, करिकुलम, सामाजिक शिक्षा, एमबिएस कक्षा अनलाइन मार्फत संचालन भइरहेको छ । अब लगत्तै बिएससीको पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी छ ।

क्यापसले व्यवस्थापन सङ्कायको ६ बजेदेखि ९ बजे सम्म र एमबिएस पहिलो सेमेस्टर, एमएड पहिलो सेमेस्टरको साँझ ५ देखि ८ बजे सम्म अनलाइन कक्षा सञ्चालन गरिएको धौलागिरी बहुमुखी क्याम्पसका उप-प्राध्यापक जोहन बज्राचार्यले जानकारी दिनुभयो । एउटा कक्षामा ३५ जना विद्यार्थीहरु सहभागी हुदै आएका छन् । बिद्युत र इन्टरनेटको समस्याले गर्दा ग्रामीण भेगका विद्यार्थीहरुलाई समावेश गर्न भने समस्या भएको उहाँको भनाई छ ।

पछिल्लो एक महिना देखि क्याम्पसले सञ्चालन गरेको अनलाइन कक्षामा सहभागी भएका पर्वत कुश्मा बजारका नारायण ढुङ्गानाले लकडाउनमा मात्र नभई अन्य समयमा समेत अनलाइन कक्षा सञ्चालन हुनुपर्ने बताउनुहुन्छ । ‘बिहानी क्याम्पस, दिउसोको जागिरको समय व्यवस्थापन गर्न निकै समस्या हुन्थ्यो,’ ढुङ्गानाले भन्नुभयो, ‘सवै पाठ्यक्रम अनलाइनबाटै पढाउन सक्ने हो भने मलाई मात्र होइन, दिउँसोमा जागिर गरेर पढ्न चाहनेहरुका लागि पनि सजिलो हुने थियो ।’

धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सभापति मनिस थापाले लकडाउनको अवधि पछि पनि अनलाईन शिक्षालाई निरन्तरता दिनुपर्ने बताउनु हुन्छ । ‘विश्वको लागि अनलाईन शिक्षा नैलो होइन, कोरोना महामारीले नेपाललाई सिक्ने अवसर दिएको छ,’ थापाले भन्नुभयो, ‘समयको सदुपयोग गर्दै विद्यार्थीलाई प्रविधिमैत्री बनाउन पनि यसले सहयोग गर्न सक्छ ।’ नेपालका लागि नया अभ्यास भएकाले अहिले अप्ठ्यारो महशुस गरिए पनि यस माध्यमबाट कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुले तोकिएको समयमा कक्षा लिन नसके पनि पछि ती विषयको रेकर्डबाट समेत अध्ययन गर्न सकिने भएकाले यो प्रभावकारी हुने थापाको भनाई छ ।

अहिले कोरोना कारण सर्वत्र देखिएको संकटका कारण बाध्यात्मक परिस्थितिले गर्दा अनलाइन शिक्षा शुरु गर्नुपरेको धौलागिरी बहुमुखि क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याले बताउनुभयो । ‘पछिल्लो समय जताततै अनलाइन कक्षाको चर्चा चल्यो, जुम एपबाट कक्षा सञ्चालन गर्दा भरपर्दो भएन,’ क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो, ‘अहिले एक महिनाको सम्झौतामा टिक्स माइक्रोसफ्ट एप्सबाट गर्ने गरि २० हजार लागतमा किनेर अनलाइन कक्षा चलाइएको छौ ।’ अब प्रविधिबाट भागेर नभई प्रविधिमैत्री बन्ने बनाउनेमा सबै लाग्न जरुरी भएको उपाध्यायको भनाई छ । गाउँ–गाउँमा रहेका विद्यार्थी र इन्टरनेरको पहुचबाट टाढा रहेका विद्यार्थीहरुलाई पछि अन्य माध्यमबाट कक्षा सञ्चालन गर्ने उहाँले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *