लकडाउनमै बढ्यो आत्महत्या

-दुई महिनामै ९ जनाले अँगाले आत्महत्याको बाटो

डम्मर बुढा मगर, बागलुङ

कोरोना भाइरसका कारण देश लकडाउनमा छ । लकडाउनमा अरु बेला दुर हुनेहरु पनि अहिले घर परिवार सँगै छन् । यो सुखद क्षण र अवसर हुनुपर्ने हो । तर, यहि अवधि पनि कतिपयका लागि कष्टप्रद र अप्रिय घटनाको सामना गर्नुपर्ने दुखद परिवेश तयार भएको छ ।

चौतर्फी कोरोना सन्तापका बीच बागलुङमा ९ जनाले आत्महत्या गरेको तथ्यांक छ । लकडाउन सुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय बागलुङमा २१ वटा मुद्धा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहार लगायतका घटना यो अवधिमा भएको पाइएको छ ।

सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा ८ वटा झुण्डिएर आत्महत्या गरेको मुद्धा छ । यस बाहेक विषादी सेवन गरी आत्महत्या १ र आत्महत्या दुरुत्साहनको १ मुद्धा छ ।

लकडाउनकै अवधिमा जिल्लामा ४ वटा अभद्र व्यवहारका घटनाका मुद्धा परेका छन् । यो समयमा चोरीको एउटा मात्र घटना भएको छ ।

नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षा कारणले गर्दा अझै पनि मानिसहरुले आत्महत्याको बाटो अँगाल्ने गरेको बताउनुहुन्छ । सामाजिक असुरक्षासँगै घरमै बस्दा विभिन्न मानसिक तनाब, बैमनस्यता, झैझगडा हुँदा उनीहरु आत्महत्या गर्न पुगेको हुन सक्ने उहाँको भनाई छ । ‘धेरै नागरिकहरु महत्वकांक्षी हुन्छन्, उनीहरुको चाहना अुनसारका क्रियाकलाप गर्न नपाउँदा निराश हुने गर्दछन्,’ शर्माले भन्नुभयो ‘चाहना अनुसार परिवारले पुरा गर्दिन नसक्दा उनीहरु आत्महत्या गर्ने निर्णयमा पुग्ने गर्छन् ।’ शर्मा यस विषयमा अभिभावक सचेत र सजग हुनु पर्नेमा जोड दिनुभयो । कतिपय नागरिकहरु अधैव सम्बन्धका कारणले पनि आत्महत्या गर्ने गरेको उहाँको तर्क छ ।

प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेको भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याको मुख्य कारक भएकोमा प्रहरी पनि सहमत छ । यस्ता खालका सामाजिक आपराधिक घटनाहरु न्यूनिकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरिक्षक केसी बताउनुहुन्छ । ‘आत्महत्या गर्ने अधिकांश नागरिकहरु मानसिक रुपमा बिक्षिप्त भएकाहरु बढि देखिन्छ,’ केसीले भन्नुभयो ‘यसको उपचार हुन्छ, उनीहरुको मनोभाव बुझेर समयमै उपचार, आवश्यक सचेतता, केयर, मोटिभेशन गर्न सकियो भने पनि आत्महत्याको सोच त्यागेर सामान्य दैनिकी र जीवनमा उनीहरुलाई फर्काउन सकिन्छ, आत्महत्या घटनाहरु केही कमी हुन सक्छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *