बागलुङमा १३ सय क्वारेन्टिनमा: पीसीआर परीक्षण र रिपोर्ट अनिश्चित

डम्मर बुढा मगर, बागलुङ

भारतमा अलपत्र परेका नेपाली नागरिक आउने क्रम तिव्र भएसँगै देशमा दैनिक तीन अकंमा संक्रमित दर बढ्न थालेको छ ।

भारतका बिभिन्न स्थानबाट आएका नागरिकहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्न नसक्दा दैनिक कोरोना संक्रमणको भयावह बढ्दो देखिएको छ ।

बागलुङ जिल्लामा पनि भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा राखिएको छ । बडिगाड गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण भएको हो ।

बागलुङमा मंगलबार सम्म भारतबाट आएका करिब १३ सय ४१ जना १० स्थानीय तहका बिभिन्न क्वारेन्टिनमा छन् । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार सबै भन्दा धेरै ३ सय ३० जना बडिगाड गाउँपालिकामा छन् भने सबै भन्दा कम तमानखोलामा १९ जना छन् । ढोरपाटन नगरपालिकामा २ सय ८४, निसीखोलामा २ सय ९१, गलकोट नगरपालिकामा १ सय २२ जना, काठेखोला गाउँपालिकामा ८० जना, बागलुङ नगरपालिकामा ६६ जना, जैमिनी नगरपालिकामा ३९ जना, ताराखोला गाउँपालिकामा ५७ जना र बरेङ गाउँपालिकामा ५३ जना छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको गुरौले जानकारी दिनुभयो । यस मध्ये २ सय जनाको मात्र स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पोखरा पठाइएको छ । पोखरा पठाएको रिपोर्ट आउन पनि ढिलाई हुन थालेको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अधिकांशमा कोरोनो संक्रमण देखिन थालेपछि पीसीआर रिपोर्टका लागि समेत २ देखि ४ दिन सम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ । अन्य ११ सय जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न नै बाँकी रहेको छ । निसीखोलाका २६, बडिगाडका १००, ताराखोलाका ७, काठेखोलाका २३ र गलकोट नगरपालिकाकाा २२ गरी २०० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा निर्माण भएका ९३ वटा क्वारेन्टाइनमा भारत लगायतका देशबाट आउने नागरिकलाई राख्ने व्यवस्था गरिएको छ । अझै पनि भारतका विभिन्न ठाउँबाट आउनेहरुको संख्या ठुलो रहेको अनुमान छ । भारतबाट आउनेहरुको संख्या बढ्दै जान थालेपछि क्वारेन्टिाइनको अभाव हुन थालेको छ । हाल निर्माण भएका क्वारेन्टिनमा थप आउनेलाई राखियो भने संक्रमणको जोखिम अझ बढ्ने देखिन्छ ।
काम चलाउ क्वारेन्टिन

सुरक्षित महुशुस गर्ने प्रत्येक क्वारेन्टिनमा एक स्वास्थ्यकर्मी, सरसफाई सहितको बसाई, खानपान लगायतको मापदण्ड उल्लेख गरे पनि सिमित स्रोत साधनका काराण बागलुङका कुनै पनि क्वारेन्टिनमा त्यस किसिमको सुविधा नभएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौको भनाई छ । ‘डब्लुएचओले भने अनुसारको क्वारेन्टिन त बागलुङमा निर्माण गर्न कठिन छ, तर यहाँ बस्नेहरुलाई सुरक्षित राख्ने गरि निर्माण भएका छन्,’ प्रमुख गुरौले भन्नुभयो, ‘अधिकांश क्वारेन्टिनहरु विद्यालयहरुमा बनाएको अवस्था छ, यथेष्ट सुरक्षा अपनाउन पर्ने चाहीँ देखिन्छ ।’

क्वारेन्टि व्यवस्थित नहुँदा धारा र शौचालय एउटै प्रयोग गर्नुपर्ने बाध्यता छ । धारो र शौचालय धेरैले एउटै प्रयोग गर्दा संक्रमण हुन सक्ने जोखिम हुन्छ । क्वारेन्टिन निर्माण गर्दा सबै पालिकाहरुले आवास, खानपानदेखि सरसफाई, धारो, शौचालय सम्मको व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *