खानेपानी पुगेको डेलिगेशन टोलीलाई अध्यक्षले अश्लिल गाली गरेपछि…

तस्बिरः खानेपानी संस्थामा पुगेको डेलिगेशन टोली र संस्थाका अध्यक्ष ।

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा गत १० दिनदेखी खानेपानी अवरुद्ध भएको बिषयमा ध्यानाकर्षण गराउन मंगलबार नगर खानेपानी संस्थाको कार्यालयमा पुगेको सामाजिक अगुवाको एक टोलीलाई संस्थाका अध्यक्षले अश्लिल शव्द प्रयोग गर्दै गाली गरेका छन् ।

गत असार ६ गते बर्षासँगै जिल्लाको काठेखोला स्थित भुदीखोलाको मुहान आसपासमा पाइप बगाए पछि अवरुद्ध बनेको पानी सूचारु नहुँदा बजारबासीले ठुलो संकस बेहोर्न बाध्य भएका छन् । सोही बिषयलाई लिएर खानेपानी संस्थाको कार्यालयमा पुगेको सामाजिक अगुवाको टोलीले पहिले आफ्ना प्रश्न, सम्भावित विकल्प र संस्थाको भुमिकाका बारेमा कुरा राखेका थिए ।

त्यसपछि जवाफ दिन थालेका बागलुङ नगर खानेपानी संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले संस्था र खानेपानीको मुहान, ठाउँ ठाउँमा गएको पहिरो र त्यहाँको स्थलगत जटिलताबारे जानकारी दिदै लामो समय सम्म पानी सूचारु गर्न नसकेकोमा क्षमा समेत मागे । र नगरवासीलाई पानी खुवाउन आफु र आफ्ना प्राविधिक कर्मचारी निरन्तर प्रयासरत रहेको पनि प्रस्टाए । र थपे पनि बर्षा र प्रकोपसँग लड्न निकै कठिन भएकाले आफ्नो कार्यकालमै सबै भन्दा लामो समय खानेपानी अवरुद्ध भएकोमा हामीलाई पनि ग्लानी महुशुस भएको छ । तर, उनी बोल्दा बोल्दै डेलिगेशन टोलीका एक अशोक गोविन्द राजभण्डारीले संस्थाको साधारणसभा, लेखा समिति, पारदर्शिता लगायतका बिषयमा प्रतिप्रश्न गरे पछि लामै सवाल जवाफ चल्यो । अध्यक्ष श्रेष्ठ र राजभण्डारीबीच केही समय जुहारी चल्दै थियो । त्यही क्रममा नगर खानेपानी संस्थाका अध्यक्ष श्रेष्ठले राजभण्डारीलाई अश्लिल शव्द मु….प्रयोग गर्दै गाली गलौजमा उत्रिए । छलफलमा सहभागी महिला र अरु पनि एकैछिन चुपचाप रोकिए । अध्यक्षले थप चेतावनीकै शैलीमा भने–‘बाघले नचिन्या बन होइन, बनले नचिन्या बाघ होइन । सबैको हैसियत थाहा छ ।’

डेलिगेशनको पहल र नेतृत्व गर्दै पुगेका अधिकारकर्मी राम शर्माले संस्थाका अध्यक्षले छलफलका क्रममा प्रयोग गरेको शव्द आपत्तिजनक भएको बताए । उनले परिस्थितिलाई सम्हाल्दै खानेपानी संस्थालाई अहिले खानेपानी तत्काल सूचारु, संस्थागत रुपमा भएका कमिकमजोरी सुधार र साधारणसभा जतिसक्दो छिटो गर्नका लागि ध्यानाकर्षण गराउन आएको बताए । र छलफल टुंगिएको घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *