पर्वतमा क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु

आदर्श अनलाइन, पर्वत

जिल्लाको पैयुँ गाउँपालिका ६ को क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका एक ५२ वर्षीय पुरुषको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुऱ्याइएको थियो । उनलाई राति नै चिकित्सकले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले बताए ।
असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सको निर्णय अनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिंदै थियो ।

उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आएका उनको केही समयदेखि औषधि सकिएको थियो । ‘उता खाएको औषधि यहाँ आएपछि केही समय रोकिएको रहेछ,’ डा. गौतमले भने, ‘बीचमा सास फेर्न गाह्रो भयो भनेपछि मैले नै सल्लाह दिएर गण्डकी अस्पताल पठाएको हो । राति निधन भएछ ।’

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौं,’ गौतमले भने, ‘मैले हाम्रो क्षेत्रीय निर्देशकज्यूलाई पनि भनेको छु ।’
-अगन्धर तिवारी पर्वतबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *