बागलुङमा फेरी कोरोना जोखिम बढ्यो,आजदेखि के–केमा कडाई ?

आदर्श अनलाइन,बागलुङ

तीन महिना लामो लकडाउन खुलाए पनि देशव्यापी रुपमा कोरोना संक्रमणको जोखिम तिव्र देखिन थालेको छ ।

लकडाउन खुल्दा क्रमशः कोरोना संक्रमित संख्या कम हुँदै गएको र निको हुने बढ्दो संख्याले ठुलो राहत महशुस गरेको बागलुङ जिल्लामा पनि पछिल्ला दिनमा फेरी कोरोना जोखिम बढेको छ ।

क्वारेन्टिनहरु रित्ता हुन थाले पनि स्वास्थ्यकर्मी, उनीहरु हुँदै आसपासका समुदाय र जनप्रतिनिधि सम्ममा कोरोना संक्रमण देखिन थालेका छन् । धौलागिरी अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालमा उपचारत छन् । अस्पतालकै स्वास्थ्यकर्मीलाई चिया, खाजा पु¥याएका एक महिलामा पनि शनिवार कोरोना संक्रमण पुष्टि भए पछि समुदाय स्तरमा पनि संक्रमण फैलिएको आंशका बढेको छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला कमाण्ड पोस्टले फेरी जिल्लाभर कडाई गर्न थालेको छ । शनिवार बसेको कमाण्ड पोस्टको वैठकले जिल्लामा समुदाय स्तरमा पनि कोरोना संक्रमणको भयावह हुने सम्भावना बढेको निष्कर्ष सहित आवश्यक सतर्कता अपनाउने र अरु स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको छ ।
बैठकले सबै प्रकारका सभा गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटिपार्लर, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, कभर्ड हल, फुटसल, पुस्तकालय, संग्रालय सञ्चालनमा रोक लगाएको छ ।

फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा, साइकलमा सञ्चालन हुने बिभिन्न व्यवसाय, कवाडी संकलन नगर्ने नगराउने, प्याकिङ खाना खाजा बाहेक होटल रेष्टुरेन्ट सञ्चालन नगर्ने नगराउने, सार्वजनिक निजी तथा वित्तीय संस्था सिमित कर्मचारीबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गराउने गरी सञ्चालन नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

यसैगरी, खुल्ला स्थानमा मानिसहरु भेला नहुने, भिडभाड गर्ने, मन्दिरमा दैनिक हुने नित्य ुजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधि सञ्चालन नगर्ने, चाडपर्व लगायतका साँस्कृति कार्य, जात्रा महोत्सव नगर्ने, उद्योग व्यापार व्यवसाय अन्र्तगत स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेकाले अब हर नागरिक स्वयम् पनि सचेत र सुरक्षित बन्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । एक जना नागरिकको लापरवाहीले सिंगो टोल, छिमेक र समाज कोेरोनाले भयावह बन्ने अवस्था आउने जोखिम भएकाले यो संकटमा सबैले सकरात्मक साथ, सहयोग र भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

बागलुङमा आजदेखि यातायातमा फेरी जोर बिजोर प्रणाली

कोरोना जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालयले बागलुङ जिल्ला भित्र सञ्चालन हुने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेको छ ।

शनिवार सूचना जारी गर्दै प्रशासनले अर्को सूचना नभए सम्मका लागि अत्यावश्यक बाहेकका निजी तथा भाडाका सवारी साधन (दुई पांग्रे समेत) सबै सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गगर्न आग्रह गरेको छ ।

जोर बिजोर प्रणालीमा जोर गते जोर नम्बर प्लेट भएका र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । वडा अध्यक्षमा कोरोना संक्रमण भेटिए पछि जिल्लाको बडिगाड गाउँपालिका भने शिल गरिएको छ । यहाँ सार्वजनिक सवारी, बजार सबै बन्द गरिएको छ । बडिगाड भएर जाने आउने लोकमार्गको रुटमा भने बीचमा यात्रु राख्न र झार्न नपाइने गरी सिधा सञ्चालन गर्न सकिने छ

बडिगाड गाउँपालिका शिल

जिल्लाको बडिगाड गाउँपालिकाले शनिवार रातिदेखि अनिश्चितकालका लागि शिल गरिएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मौसम काजी क्षेत्रीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका शिल गर्ने निर्णयमा पुगेको स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताउनुभयो । अर्को सूचना जारी नगर्दा सम्मका लागि शिल भएको कँडेलको भनाई छ ।

वडा अध्यक्ष क्षत्री वडा तथा गाउँपालिकाको सेवा प्रवाह, बैठक तथा सार्वजनिक कार्यक्रम गर्दा धेरै जना सँग सम्पर्क भएको र कोरोना समुदायमा फैलिन सक्ने सम्भावना देखिएकाले संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गाउँपालिका भित्र सञ्चालन हुने अत्यावश्यक सेवा –खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, विपद व्यवस्थापन सेवा तथा मध्यपहाडी लोकमार्गमा चल्ने यातायात सेवा –बीचमा चढ्न र झर्न नपाउने गरी) बाहेक अन्य सार्वजनिक यातायात, बजार क्षेत्र समेत बन्द गर्ने, गाउँपालिकाका र अन्य संघ संस्था तथा वित्तीय संस्थाका सेवा सबै हाललाई स्थगित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्