आदर्श अनलाइन,बागलुङ
कोरोना संक्रमणको तिव्र जोखिम पछि साविक धौलागिरी अञ्चलका चार जिल्ला हेर्ने गरी बागलुङमा स्थापित आन्तरिक राजश्व कार्यालय आइतवार ‘सिल’ गरिएको छ ।
राजश्व कार्यालयमा कार्यरत कर्मचारीहरु संक्रमित पुष्टि भएकाको सम्पर्कमा आएको खुले पछि कार्यालयनै सिल गरिएको हो । शनिवार मात्र धौलागिरी अस्पताल अगाडी होटल व्यवसाय गर्दै आएका एक ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राजश्व कार्यालयमा कार्यरत केही कर्मचारीले सोही होटलमा दैनिक खाना खाने गरेका थिए । खाना खुवाउने महिलालाई नै कोरोना संक्रमण देखिए पछि अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले बताए । ‘कार्यालयकै महत्वपूर्ण शाखामा काम गर्ने सबै साथीहरु संक्रमितको सम्पर्कमा भएकाले एक साताका लागि कार्यालय सिल गरिएको हो,’ कार्यालय प्रमुख सुवेदीले भने, ‘सबैलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ, पाँच दिन पुगेपछि स्वाब लिएर पीसीआर परीक्षण गरिनेछ ।’ कार्यालयका ठुलो संख्याका कर्मचारी संक्रमितको सम्पर्कमा भएको पाइए पछि जिल्ला कमाण्ड पोस्ट र बिभागको निर्देशनमा कार्यालय सिल गरिएको उनले बताए ।
होटलकी ति महिला पनि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भए पछि कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन् । सम्पर्कमा आएका आधारमा उनी सहित श्रीमान र दुई छोराछोरीको परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको थियो । शनिवार मात्रै जिल्ला समन्वय समितिका प्रमुख र बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्षलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
कन्ट्याक्ट ट्रेसिङ पछि आन्तरिक राजश्व कार्यालय बागलुङ ‘सिल’
