अब बागलुङ बजारको फोहोर नगरपालिका आफैले उठाउने

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रको फोहोर संकलनको जिम्मा दिएको सरसफाई सहकारी सँगको सम्झौता रद्ध गरेको छ ।

२०५४ सालमा स्थापना भएको बागलुङ नगरपालिकाले नगरमा निस्कदै आएको फोहोर शुरुमा आफै व्यवस्थापन गर्दै आएको थियो । २०७२ सालमा सहकारी मार्फत फोहोर संकलन गर्ने गरी धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था मार्फत फोहोर संकलन तथा व्यवस्थापन गर्न नगरपालिकाले जिम्मेवारी दिएको थियो ।

तर, सम्झौता अनुसार पछिल्लो समय नियमित फोहोर संकलन नगरेकाले बागलुङ नगर कार्यपालिकाको यही साउन ३२ गते बसेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
सम्झौता अनुसार कार्य नगरेका कारण सोही सम्झौता पत्रकौ आधारमा नगर कार्यपालिका बैठकले सहकारी सँगको सम्झौता रद्ध गर्ने निर्णयमा पुगिएको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिनुभयो । ‘समयमै फोहोर नउठेको धेरै गुनासो आयो, डम्पिङ साइड समेत व्यवस्थित भएन’ नगर प्रमुुख पौडेलले भन्नुभयो ‘कुहिने र नकुहिने फोहोर संकलन छुट्टा–छुट्टै गर्ने र व्यवस्थापन गर्नुपर्नेमा नगरेका कारण अबदेखि नगरपालिकाले नै फोहोर संकलन गर्ने गरी अगाडी बढेका छौं ।’

नगर प्रमुख पौडेलले दुई वटा फोहोर संकलनको सवारी साधन र कर्मचारी आफ्नै भएका कारण थप एउटा ट्रिपर किनेर आफै फोहोर संकलन र व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यपालिकाको बैठकले फोहोर सकलनका लागि ट्रिपर खरिद गर्ने समेत निर्णय भएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले सम्झौता अनुसार सवारी साधन मर्मत नगर्दा समयमै फोहोर उठाउन नसकिएको भन्दै पछिल्लो ६ महिना देखि सहकारीकै ट्रिपर मार्फत फोहोर उठाउदै आए पनि एकलौटी ढंगबाट सम्झौता रद्द गरिएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाका अध्यक्ष सुधिर श्रेष्ठले बताउनुभयो । ‘फोहोरबाट कम्पोष्ट मल बनाउन पनि नगरपालिकाले अड्को थाप्ने, बजेट फ्रिज गर्ने काम गरेको छ’ श्रेष्ठले भन्नुभयो ‘सम्झौता अनुसार सवारी साधन मर्मत नगर्ने अनि उल्टै काम गरेन भन्ने कुरा पछिल्लो समय भयो । हामीले काम गरिरहेकै थियौ, नगरवासीको फोहोर नउठेको गुनासो थिएन ।’ आपसी समझदारी विनै एकलौटी ढंगले निर्णय गर्दा सहकारीलाई समस्यामा पारेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *