मुस्ताङमा सलह : २५ सय केजी जम्मा गरेर डिस्पोज

एसके थकाली,मुस्ताङ

हिमाली जिल्ला म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्वार मानिएको थासाङ गाउँपालिकाले अन्नबालीमा धेरै क्षति पुर्‍याएपछि सलह किरा नष्ट गर्ने अभियानमा जुटेको छ।

सलह किरा संकलन गर्ने व्यक्तिलाई प्रति केजी रु एक सय रुपैयाँ पारिश्रमिक दिने गरी पालिकाले सलह संकलन गर्ने अभिायन थालेको थासाङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामशरण सापकोटाले जानकारी दिए। उनका अनुसार थासाङ गाउँपालिकाले भदौ १ गतेदेखि सहल नष्ट गर्ने अभियान सुरु गरेको हो। थासाङमा शुक्रबारसम्म करिव २५ सय केजी सलह किरा संकलन गरी खाल्डो खनी डिस्पोज गरेको कृषि प्राविधिक सापकोटाले जनाए।

थासाङ-३ को लेते र धम्पुमा १४ सय ३० केजी र थासाङ—५ को छयो गाउँबाट करिव ११ सय केजी जम्मा गरिएको हो। अन्य वडामा पनि सलह संकलन गर्दै जाने पालिकाको योजना छ। किसानले अथक परिश्रम गरी लगाएको अन्नबाली नष्ट गरेपछि पालिकाले सलह नष्ट गर्न थालेको सापकोटाको भनाइ छ। सलह किराको संख्या घटेको छैन। जति नष्ट गर्‍यो उति बढेको छ। थासाङले भाद्र ५ गतेसम्म २ लाख ५० हजार रुपैयाँ सलह नष्ट गर्न खर्च गरिसकेको छ’, कृषि प्राविधिक सापकोटाले उल्लेख गरे।

आफ्नो खेतबारी लगाएको अन्नबाली नष्ट गरेको र पालिकाले पनि सलह संकलन गर्न पारिश्रमिक दिएकाले गाउँका युवायुवती सलह संकलनमा जुटेको थासाङ—३ लेतका स्थानीय विशाल विकले जानकारी दिए। पालिकाले सलह किरा पूर्ण रुपमा निस्तेज नभए सम्म सलह संकलन अभियान जारी राख्ने जनाएको छ। यस्तै सलह किराले थासाङ गाउँपालिका जस्तै वारागुङ मुक्तिक्षेत्रको ताङ्वे ,छुसाङ ,कागबेनी ,पाक्लिङ ,फल्याक ,झोङ र मुक्तिनाथ लगायतका गाउँमा किसानले लगाएको मकै, आलु , फापर र सिमी लगायतका बर्खेबालीमा क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्रका सूचना अघिकारीले सूर्य तिमिल्सिनाले जानकारी दिए।

घरपझोङको मार्फ, ठिनी र स्याङ लगायतका गाउँमा पनि सलहले बालीनालीमा क्षति पुर्‍याएको छ। मुस्ताङको थासाङ गाउँपालिकाले सलह नष्ट गर्न बजेट नै छुट्याएको छ भने अन्य पालिकामा किसानले सलह धपाउन आगो बालेर धुवा पुत्याउने र थाल ठटाउने लगायतका विधि अपनाएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *