जमिन चिरा परे पछि म्याग्दीका १२ परिवारलाई स्थानान्तरण

सन्तोष गौतम, म्याग्दी

जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका १२ परिवारलाई स्थानान्तरण गरिएको छ।

जमिन चिरा परेर घर भत्किन थालेपछि पहिरोको जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारेको गाउँपालिकाले जनाएको छ। ३८ परिवारको बसोबास भएको फगाममा २३ घर पहिरोको उच्च जोखिममा छन्।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले २३ वटा घर बस्नै नमिल्ने भएका बताए। ‘१२ परिवारलाई पाखोमा टहरा बनाएर राखेका छौ,’ उनले भने ‘अरुलाई पनि सार्ने क्रममा छौ। राति घरमा कोही पनि बस्दैनन्।’ टहरा बनाउन गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले त्रिपाल उपलब्ध गराएका छन्।

हिराबहादुर पुन, जमुना खत्री, लालमति थापा, जितबहादुर राम्जाली, दिर्घबहादुर थापा, दुर्गाप्रसाद थापा, मंगली पुर्जा, देउमाया मिजार, कर्णबहादुर नेपाली, छकबहादुर गर्बुजा, नरबहादुर थापा, राममाया राम्जाली, हमाया राम्जाली, भूमिका मिजार, तेजबहादुर पाइजा पुन, तिलमाना थापा, गोमा केसी, लक्ष्मी गर्बुजा, नरमान थापा, सन्तु बरुवाल, नन्दबहादुर कटुवाल, ओमप्रसाद थापा र लालबहादुर गर्बुजाको घर बस्न योग्य नभएको गाउँपालिकाले जनाएको छ।

फगामको सबै बस्तीनै सार्नका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी सुरु गरेको अध्यक्ष पुनले बताए। स्थानीयबासीले घरका सामान र गाईभैंसी पनि सारेका छन्। दिउँसो खेतबारीको कामका लागि मात्र घर जाने गर्छन्।

फगामको सेतिबराही बाल शिक्षाको तीन कोठे भवन पनि भत्किएको छ। जमिन लच्किएर घर कोल्टे पर्ने, पर्खाल चिरा चिरा पर्ने र भत्किन थालेको स्थानीय लालमति थापाले बताइन्। कमजोर भू(बनोट भएको भिरालो पाखोमा अवस्थित फगामको तल बेनी–जोमसोम सडक निर्माणाधिन छ।

दाना–खुर्कोट २२० केभी प्रशारण लाइन आयोजनाले टावर बनाउन जलथलेदेखि फगाम हुदै दुवाडीखोलासम्म पाँच किलोमिटर सडक निर्माण गरेको थियो। गाउँको बीच र तलतिर खनिएको सडकका कारण धेरै वर्ष अघि थामिएको पहिरो अहिले सक्रिय भएको स्थानीयबासीको भनाई छ। सो ठाउँमा यसअघि पनि पहिरो गएको थियो।

अन्नपूर्ण–३ मा पर्ने रुप्से खोलामा आएको बाढीले गत साउनमा रुप्से झरना परिसरमा सुवर्ण खत्रीले सञ्चालन गरेको वाटरगड होटल बगाएको थियो। कालीगण्डकीले कटान गरेर तितरका रमेश बुढाथोकीको घर र जितबहादुर पुर्जाको ब्लक उद्योग बगाएको छ। काभ्रेका बलबहादुर पुर्जालाई भजेनी खोलाले बगाएर बेपत्ता बनाएको छ। पहिरोमा पुरिएर काभ्रेकै झलक पुनको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *