कुँडुले वेदविद्याश्रममा शिक्षाः यस्तो छ विवादको रहस्य

आदर्श अनलाइन,बागलुङ

जिल्लाको एक सँस्कृत विद्यालयमा दलित, जनजाति लगायतका सन्तानलाई पनि पढ्न पाउने व्यवस्था गर्न माग गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–४ कुँडुले स्थित श्री रङ्गवेङ्केटेश्वर मुक्तिनारयण मन्दिर तथा मुक्तिनाथ वेद विद्याश्रममा गैरब्राह्मण समुदायका सन्तानले समेत पढ्न पाउनु पर्ने माग तिव्र बनाएका छन् ।

कुँडुले निवासी पण्डित तथा ज्योतिष चन्द्रकान्त पौडेलले संस्कृतमा जातिय विभेद नरहेको भन्दै समावेशिताको माग उठाउँदै आउनुभएको छ । उहाँले उठाएको मागका विषयमा स्थानीय तथा मन्दिर व्यवस्थापनले भने बेवास्ता गरेको पौडेलको भनाई छ । कानूनले समेत छुवाछुतको अन्त्य गरेको अवस्थामा गैर ब्राह्मणले समेत संस्कृत विद्यालयमा पढ्न पाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

धर्म, सँस्कृति एवम् परम्पराको आडमा वेद र पूराणको नीति विरुद्ध सँस्कृत गुरुकुलमा जातिय विभेद भएको चन्द्रकान्तको भनाई छ । धर्ममा जातीय विभेदका कुरा नलेखेको भए पनि कतिपय संस्कृत गुरुहरुले नै झुठा प्रचार गरी विभेद कायम राखेको उहाँको आरोप छ । क्षत्री कुलका राम वशिष्ठ गुरुकुलमा पढ्थे, यादव वंशी कृष्ण बलराम महर्षी सान्दीपनिको गुरुकुलमा पढ्थे, दासी पुत्र विदुर वैदिक वाङ्म्यका प्रखर वक्ता रहेको भन्दै गुरुकुलमा विभेद नगर्न उहाँको सुझाव छ ।

विश्व हिन्दु महासंघ साउथ एसिया प्रमुख बताउने पौडेलले सँस्कृत वेदविद्याश्रममा पढ्न पाउनु पर्ने आवाज तिव्र रुपमा उठाए पछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् भने यो बिवादमा सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम संग्रहालय, वेद विद्याश्रमका अभियन्ता तथा संरक्षक १००८ स्वामी कमलनयनाचार्य र ऋषि प्रपन्नाचार्य समेत मुछिएका छन् । पौडेलले सामाजिक सञ्जाल मार्फत पनि स्वामीद्धयलाई यसअघि तथानाम लेख्दै आफ्नो अभियानमा अवरोध गरेको आरोप लगाउदै आएका छन् ।
गुरुकुलमा दलित जनजाति सबैले पढ्न पाउनुपर्छः पण्डित पौडेल
यो बिवाद बढ्दै गए पछि सोमबार दिउँसो पण्डित पौडेललाई गाउँले र मन्दिर व्यवस्थापनमा खटिएकाबाटै घेराबन्दी गरेर धम्की र गालीगलौज गरिएको छ । त्यसपछि आँफु असुरक्षित भएको भन्दै पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा जिउधनको सुरक्षा र समावेशी गुरुकुल शिक्षाको माग सहित निवेदन दिएका छन् । ‘मेरो माग भनेको गुरुकुलमा दलित जनजातिले समेत पढ्न पाउनु पर्दछ भन्ने हो, मन्दिरमा रहेका सन्त महात्माद्वारा जातिय विभेद विरुद्ध आवाज उठाउनै दिनुभएको छैन’ पौडेलले भन्नुभयो, ‘सोमबार मलाई जातिय विभेदका बारेमा आवाज उठाउँदा मलाई घेराउँ गरियो, प्रहरीको सहयोगमा घेराउँबाट जोगिए ।’ उहाँले माग पुरा नभए जिल्ला प्रशासन कार्यालय अगाडि आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो ।

मलाई जर्बजस्त अपराधी करार गर्न खोजियोः स्वामी प्रपनाचार्य
मन्दिरका संरक्षक तथा अभिभावक ऋषि प्रपन्नाचार्यले सरकारी स्वामित्वको विद्यालयमा कसैलाई पढ्ने र कसैलाई रोक्ने अवस्था नरहेको बताउनुभयो । आँफु मन्दिर र सँस्कृत वेदबिद्याश्रम सञ्चालनमा संरक्षकको भुमिकामा रहे पनि आँफुले कसैलाई पढ्न रोक्ने बिषयमा केही नभनेको उहाँको भनाई छ । यस विषयमा बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाट जानकारी लिन उहाँले आग्रह गर्नुभयो । ‘म कुनै अपराधी हैन, परिवार त्यागेर मन्दिरमा आएर बसेको छु, कसैलाई आज सम्म नपढाउने भनेर भनिएको पनि छैन’ प्रपन्नाचार्यले भन्नुभयो ‘समाज र उहाँको कुरा मन्दिर र म माथि आएर आएर जोडिनु दुखद हो, मनलाग्दी अपाच्य शब्द कसैलाई प्रयोग गर्न पाइदैन, जर्बजस्त अपराधी करार गर्न खोजिएको छ ।’

विद्याश्रममा सबैलाई पढ्न खुल्ला छः प्रधानाध्यापक ज्ञवाली
हाल सम्म विद्यालयले कुनै विभेद नगरेको मुक्तिनाथ वेदविद्याश्रमका प्रधानध्यापक शान्ति ज्ञवालीले बताउनुभयो । ‘कसैलाई आइजा कसैलाई नआइजा भन्ने कुरै छैन सरकारी विद्यालय सरकारी नियममै चल्छ, जो कोहीले संस्कृत पढ्न चाहे खुल्ला छ’ ज्ञवालीले भन्नुभयो ‘म महिला प्रधानध्यापक भएका हिसावले पनि महिलालाई संस्कृत पढाउन पहल गरे पनि हाल सम्म कोही महिला तथा गैरब्राह्मण गुरुकुल शिक्षाका लागि आएकै छैनन् ।’ भर्ना हुन नै नआए कसरी विद्यालयले विभेद ग¥यो ? यो समाज र सबैले जान्ने बुझ्ने कुरा भएको उहाँको तर्क छ ।

दलित समुदायको अभियानमा ऐक्यवद्धता
बानपा–४ स्थित मुक्तिनाथ वेद विद्याश्रममा दलित र जनजातिका छोराछोरीले पनि सँस्कृत वेद विद्याश्रममा पढ्न पाउने विषयमा अभियान चलाउने अभियानकर्ता माथि भएको दुर्व्यवहार प्रति संयुक्त दलित संर्घष समिति बागलुङले आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष टिका कुमारी विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसका लागि आवाज उठाउने अभियानकर्ता पण्डित चन्द्रकान्त पौडेल माथि स्थानीयले गरेको दुर्व्यवहारआपत्तिजनक भएको भन्दै यसमा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ ।

समानता धर्म र भेदभाव पाप हो भन्ने सत्य र यथार्थका बिपरित स्थानीयले जातिय भेदभावलाई प्रश्रय दिने गतिविधि गर्नु दुखद र गम्भीर बिषय भएको उल्लेख छ ।

दुवै पक्षलाई राखेर समाधान गर्छौ ः प्रजिअ न्यौपाने
वेदविद्याश्रमको विवादका बिषयमा दुव्र्यवहार भएको भन्दै चन्द्रकान्त पौडेल र स्थानीय महिलाहरुले छुट्टाछुट्टै निवेदन जिल्ला प्रशासन कार्यालयमा दिएको प्रमख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिनुभयो । ‘पण्डित पौडेले सुरक्षा माग गर्दै निवेदन दिनुभएको छ, उहाँका छिमेकीहरुले चन्द्रकान्तले दुव्र्यवहार गरेको भन्दै छानविनका लागि निवेदन दिनुभएको छ,’ न्यौपानेले भन्नुभयो ‘जिल्ला प्रहरीमा दुवै पक्षलाई बोलाएर आवश्यक छलफल गर्न भनेको छु, यो विषयमा अध्ययन नभए सम्म कस्को माग जायज हो ? भन्न सक्ने अवस्था छैन । छलफल पछि निचोड आउँला, तर जातिय छुवाछुत तथा विभेद गर्न कानूनले दिदैन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *