बागलुङमा भोलीदेखि केही खुल्ला,केही अझै बन्द

आदर्श अनलाइन,बागलुङ

समुदाय स्तरमा कोरोना भाइरस संक्रमणको जोखिम तिव्र बढे पछि बागलुङ नगरपालिकामा १७ दिनदेखि जारी निषेधाज्ञा अन्त्य भएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बुधवार राति १२ बजेदेखि निषेधाज्ञा अन्त्य भएको हो ।

नगर क्षेत्रमा जारी निषेधाज्ञा अन्त्य भए पनि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रशासन कार्यालयका तर्फबाट नयाँ आदेश जारी गरिएको छ । जसमा बिहिवारदेखि अत्यावश्यकीय सहित कपडा फेन्सी, हार्डवयर, श्रृंगारिक, सुनचाँदी लगायतका पसल खुल्ला हुनेछ । यसरी पसल खुल्ला गर्दा पनि न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड (सेनिटाइजर, माक्स, कम्तीमा २ मिटरको दुरी) लगायतको व्यवस्था सम्बन्धित व्यवसायीले व्यवस्थापन गर्नुपर्नेछ । निजी सवारी साधन, मोटरसाइकल, स्कुटी जोर बिजोर प्रणालीका आधारमा चल्नेछ । बैंक तथा वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्ला हुनेछन् । यद्यपी सहकारीको घर घरमा गएर पैसा उठाउने कार्य भने तत्कालका लागि रोक लगाइएको छ ।

तर, सार्वजनिक सवारी बस, माइक्रो, जीप भने अर्को सूचना जारी नभए सम्मका लागि बन्दै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । क्याम्पस, बिद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, फुटसल, खेलुकद स्थल, जिमखाना, फिटनेश सेन्टर, ब्युटि पार्लर, शैलुन, फुटपाथ पसल, घरदैलो गरी बिक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका सेवा र स्थल बन्द छ ।

बागलुङ नगरपालिकामा दुई जना व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भए पछि नगरपालिकाको सिफारिसमा समितिले पहिलो चरणमा भदौ ९ गतेसम्म निषेधाज्ञा जारी गरे पनि संक्रमणको जोखिम कायमै रहेकाले थप एक साता र अन्तिम समयमा फेरी २ दिन थप गरेर बुधवार राति सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *