बागलुङ बजार फोहोर विवादः उपमेयर सहकारीकै पक्षमा

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारको फोहोर व्यवस्थापनका बिषयमा नगर प्रमुख र उपप्रमुख बीच मत बाझिएको छ ।

धौलागिरी फोहोर व्यवस्थापन तथा बातावरण संरक्षण सहकारी संस्थाले सम्झौता अनुसार काम नगरेको भन्दै गत साउन ३२ गतेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयमा आफ्नो नोट अफ डिसेन्ट रहेको नगर उपप्रमुख सुरेन्द्र खड्काले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

नगर उपप्रमुख खड्काले जनप्रतिनिधि निर्वाचित भएर आए लगत्तै फोहोर व्यवस्थापन सहकारी सँग सम्झौता पुनरावलोकन गर्नुपर्ने आवाज उठाए पनि मौन रहेको तर अहिले कोरोना संकटका बीच सम्झौता भंग गरिनु आपत्ति जनक बिषय भएको बताउनुभयो । पत्रकार सम्मेलनमा कडा रुपमा प्रस्तुत हुनुभएका खड्काले यो बिषयमा कर्मचारी मात्र नभई जनप्रतिनिधि समेत कमिसनमा लागेको आरोप समेत लगाउनुभयो । अहिले फोहोर व्यवस्थापनमा नगरमा अन्य परियोजना समेत आउन लागे पछि कमिसनको खेलका लागि सम्झौता तोडिएको उपप्रमुख खड्काको दाबी थियो ।

फोहोर व्यवस्थापनको समस्या हल गर्न आफ्नै नेतृत्वमा गठित कार्यदलले दिएका सुझाव र धेरै निर्णय कार्यान्वयन नगरी सम्झौता तोडिए पछि पत्रकार सम्मेलन गर्न बाध्य भएको उहाँले बताउनुभयो । ‘शुरुमा कर्मचारीतन्त्रले चलाउँदा सम्झौता धेरै नै सहकारीमैत्री जस्तो देखिएर मैले आवाज उठाउदै आए, यसकारण परिमार्जन गरौं भन्दा मेयर सापले बेवास्ता गर्दै आउनुभयो’ उपप्रमुख खड्काले भन्नुभयो, ‘अहिले कसरी एकाएक सम्झौता तोड्न तयार हुनुभयो ।’

बागलुङ नगरपालिकाले आफ्नो ट्याक्टर र अर्को टिपर धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाई सहकारी संस्थालाई फोहोर उठाउने जिम्मा दिएको थियो । तर, सहकारीले पनि पछिल्लो समय बजारमा फोहोर संकलन तथा व्यवस्थापनलाई चुस्त बनाउन नसकेको गुनासो र आलोचना बढ्दै गएको थियो । सोही अनुसार नगर प्रमुख जनकराज पौडेले सम्झौता अनुसार काम नगरेको र जनताको घरदैलोमा फोहोर उठाउन जाने कार्य समेत अनियमित हुँदा नगरबासीबाट तिव्र गुनासो आएकाले नगरपालिका आफैले फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता तोड्ने निर्णयमा पुगेको बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *