प्रेरक पाइला : उत्पादनमा उदाहरण बन्दै युवा

सिर्जना पन्त, बागलुङ
बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका ३२ वर्षीय सागर कुँवरले राजनीति शास्त्र र समाज शास्त्रमा स्नातकोत्तर (मास्टर्स) गर्नुभएको छ । सन् २०१० मा प्रविणता प्रमाण पत्र तह पास गरे पछि ‘ट्राभल टुरिजम एण्ड हस्पिटालिटी कोर्स’का लागि लण्डन पुगेका कुँवर १ वर्षमै फर्किनुभयो । उच्च शिक्षाका लागि भन्दै अहिले पनि दैनिक हजारौ युवा प्रविणता प्रमाणपत्र पास गर्दा साथ युरोप अमेरिका उडिरहेका छन् । तर, आज भन्दा १० वर्ष पहिलेनै बेलायत पुगेका कुँवर स्नातक अध्ययन गर्नका लागि आफ्नै देश फर्किनुभयो । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर अध्ययन गरेका कुँवरलाई सोही क्याम्पसमा समाजशास्त्र अध्यापन गराउने प्रस्ताव नआएको होइन । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को विद्यार्थी राजनीतिमा नेतृत्वदायक भुमिका समेत निर्वाह गर्नुभएका कुँवरलाई राजनीति गरेर देशमा परिर्वतन ल्याउनुपर्छ भन्ने हुटहुटीले प्राध्यापक ‘लेक्चर’ हुन रोक्यो ।

युरोपको अवसर, आफैले अध्यापन गरेको क्याम्पसमा पढाउने अवसर छोडेका कुँवर आजभोली बङ्गुर पालनमा व्यस्त हुनुहुन्छ । कुँवर मात्र होइन, कुँवरसँगै अखिल (छैठौं) को विद्यार्थी राजनीतिमा सक्रिय रहेका अन्य तीन जना बागलुङको जैमिनी नगरपालिकाका युवा मिलेर व्यावसायिक रुपमा देशमै केही गर्ने अभियानमा समर्पित हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका–३३ बागमारामा ९ रोपनी ५ आना जमिन १० वर्षको लागि भाँडामा लिएर कुँवर र उहाँका साथीहरुले २०७६ असोज १ गतेदेखि ‘सिर्जनशिल युवा सहकार्य बङ्गुर फार्म’ सञ्चालनमा ल्याउनुभएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराबाट विज्ञान संकायमा स्नातक अध्ययन गर्नुभएका जैमिनी नगरपालिका–७ का २९ वर्षीय अर्जुन शर्मा, ३ वर्ष कोरियामा बङ्गुर फार्ममा काम गरि फर्किनुभएका ३३ वर्षीय विष्णु पौडेल र जैमिनी नगरपालिका–१० का ३३ वर्षीय प्रेम बिक सहित कुँवरले १ करोड सह–लगानीमा ५२ वटा पाठापाठीबाट सुरु गरेको फार्ममा अहिले ४ सय बङ्गुर छन् ।

फार्म सञ्चालनमा ल्याउनु भन्दा पहिले कुँवरले गलकोटको आफ्नै गाउँलाई एग्रो टुरिजमको लागि विकास गर्ने सोच ल्याउनुभएको थियो । गाउँका सबै सँग सहकार्य गर्दै सहकारीको माध्यमबाट कृषि गर्ने, बङ्गुर, कुखुरा बाख्रा पाल्ने उहाँको योजना थियो । कुँवरले आफुनो विचार गाउँले समक्ष नराख्नुभएको पनि होइन । तर, आफ्नो योजना र विचार गाउँलेलाई बुझाउन गाह्रो भए पछि व्यक्तिगत लगानीमा काम गर्ने योजना बनाएको उहाँको भनाई छ ।

सुरुवातमा देशका विभिन्न ठाउँमा पुगेर कुखुरा र बाख्राको फार्मको अध्ययन अवलोकन गर्नुभएका कुँवरले पोखरा सम्म आइपुग्दा बङ्गुरको सम्भावना राम्रो देखे पछि बङ्गुर नै पाल्नुपर्छ भनेर निर्णय गरेको बताउनुभयो । सोही समयमा कुँवरका साथी अर्जुनले रेष्टुरेण्ट सञ्चालन गर्ने योजना बनाउँदै हुनुहुन्थ्यो । कुँवरले अर्जुनलाई आफ्नो योजना सुनाउनुभयो र सहकार्यको लागि प्रस्ताव गर्नुभयो । राजनीतिक हिसाबले एउटै पार्टीको भातृ संगठनमा रहेर काम गरिरहेका युवाहरुको सैद्धान्तिक र वैचारिक विचार मिलेकै कारण व्यावसायिक जीवनमा पनि सहकार्य सम्भव भएको कुँवरको भनाई छ । कुँवरले आफ्नो योजनामा अन्य दुई जना साथीहरुलाई पनि सोही अनुरुप सहकार्यका लागि अनुरोध गरेको बताउनुहुन्छ ।

चार जना युवाहरुको देश तथा विदेशको अनुभव र अध्ययनले फार्म सञ्चालन र व्यवस्थापनमा सहज भएको उनीहरुको अनुभव छ । बङ्गुरलाई दाना बनाउने, दिसा विसाब सफा गर्ने, सुत्केरी बङ्गुर, पाठापाठीको स्याहार सुसार देखि खोप दिने काम पनि उहाँहरु मिलेर गर्नुहुन्छ । उहाँहरु बङ्गुरको विषयमा लेखिएका पुस्तकको अध्ययन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अनलाइन मार्फत आयोजना हुने गोष्ठी, सेमिनार र तालिममा पालैपालो सहभागी हुने र त्यसलाई व्यवहारमा उतार्ने गर्नुहुन्छ । अन्य देशमा भन्दा अफ्रिका, चीन र भियतनाममा व्यवस्थित र व्यावसायिक बङ्गुर पालन गरिरहेको भन्दै आफुहरु पनि उनीहरु सँग सम्पर्कमा रहेर सिप सिक्ने गरेको कुँवरले बताउनुभयो ।

फार्म सञ्चालनमा ल्याएको बिहीबार एक वर्ष पुरा भएको छ । तर, बङ्गुरले ६ महिना पहिलेबाटै उत्पादन दिन सुरु गरिसकेका छन् । उन्नत जातको बङ्गुरको एउटा पाठाको मुल्य पोखरामा ६ हजार छ । तर, आफ्ना फार्मबाट एउटा पाठालाई ५ हजार ५ सय रुपैयाँमा विक्री गर्दै आएका छन् । अहिले कास्कीसँगै बारा, धादिङ, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा र म्याग्दी जिल्लामा समेत उहाँहरुको फार्ममा उत्पादित पाठापाठीको माग बढिरहेको छ । एउटा बङ्गुर वर्षमा २ पटक ब्याउँछ, प्रत्येक पटक १० देखि १४ वटा सम्म पाठापाठी जन्माउँछ । ८ देखि १० बेत सम्म बङ्गुर ब्याउन सक्छन् । तर, ६ बेत भन्दा बढी व्याएको बङ्गुरले जन्माएका पाठापाठी स्वस्थ नहुने कुँवरले बताउनुभयो । ‘५० केजीको बङ्गुरलाई न्यूनतम पनि १८ हजार ५ सय रुपैयाँ पर्छ,’ कुँवरले भन्नुभयो ‘बजारमा बङ्गुरको मासुको माग दिन प्रति दिन माग बढिरहेको छ, बजारको अभाव छैन ।’ व्यक्तिगत भन्दा सामुहिक रुपमा गरिएका व्यवसायले समाजमा छिटो प्रभाव पार्ने विष्णु पौडेलको अनुभव छ । ‘एक्लैले ठुलो लगानी गर्न गाह्रो हुन्छ, लगानी कम भए उत्पादन पनि कम हुन्छ,’ विष्णु भन्नुहुन्छ ‘सके सम्म ठुलो परिणाम आउने गरि सामुहिक रुपमा व्यवसाय गर्दा व्यक्ति र समाज दुबैलाई फाइदा हुन्छ ।’

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाले उहाँहरुको व्यवसायमा पनि ठुलै प्रभाव पा¥यो । फार्ममा भौतिक संरचना थप गर्ने, व्यवस्थित बनाउने उनीहरुको योजना थियो । तर कोरोना र लकडाउनले गर्दा काम प्रभावित बनेको छ । अवस्था सामान्य बन्दै गए फार्मलाई थप विस्तार गर्ने उनीहरुको योजना छ । अहिले सम्म उन्नत जातका बङ्गुर मात्र पालेका उनीहरु आगामी वर्षबाट बदेल र ग्रामिण भेगमा पाइने कालो बङ्गुर समेत पाल्ने योजनामा हुनुहुन्छ ।

एउटाको देखासिकी गरेर सबैले एउटै व्यवसायमा हात हाल्दा सोचे जस्तो प्रगति गर्न नसकिने प्रेम विकको भनाई छ । ‘गाउँमा कसैले टमाटर लगायो भने सबैले टमाटर लगाउने, एउटा कुखुरा पाल्यो भने सबैले कुखुरा पाल्नेहरु बढ्न थालेका छन्,’ विकले भन्नुभयो ‘यसो गर्दा दिर्घकालिन रुपमा व्यावसायिक बन्न सकिदैन, हामीले उत्पादन गरेका वस्तुभाउले उचित मुल्य र बजार पाउँदैनन् ।’ जसले जे उत्पादन गरे पनि ठुलो परिमाणमा उत्पादन गर्ने र आफुले गर्न थालेको व्यापार व्यवसाय माथि पहिले अध्ययन र अनुसन्धान गरेर मात्र गर्नुपर्ने उहाँको भनाई छ ।

विदेश जानका लागि गरिने थोरै धेरै लगानी आफ्नै ठाउँमा गर्न सके आम्दानी सँगै विदेशमा हुने मानसिक तनाव कम हुने अर्जुन शर्माको भनाई छ । आफ्नो देशमा गरिने व्यापार, व्यवसायले व्यक्तिलाई मात्र नभएर राष्ट्रलाई पनि फाइदा हुने उहाँको भनाई छ । आफुहरुले व्यवसाय सुरु गरे पछि आफ्नो सम्पर्कमा रहने सबै साथीहरुलाई व्यावसायिक बन्न हौसला प्रदान गर्ने गरेको कुँवरको भनाई छ । ‘आफ्नो ठाउँको वस्तुस्थितिको अध्ययन गर्नुस्, गाउँमा ठुलो मात्रामा लोकल कुखुरा, बाख्रा पाल्नुस् । बरु बजारीकरणको लागि समस्या भयो भने हामी सहयोग गर्छौ, साथीहरुलाई भन्ने गरेको छु’, कुँवरले भन्नुभयो ।

राज्यले वर्षेनी युवाहरुलाई स्वरोजगार बनाउनको लागि ठुलो लगानी गरे पनि सहि ठाउँमा सदुपयोग नभएको कुँवरको भनाई छ । ‘राज्यले अनुदान भनेर दिन्छ, त्यो पनि राजनीतिक आग्रह र पूर्वाग्रहको रुपमा वितरण हुने गरेको पाइन्छ,’ कुँवरले भन्नुभयो ‘हामी श्रममा विश्वास गर्छाै, कसैको आश पनि गरेका छैनौ ।’

नेपाल क्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनको नेतृत्व तहमा रहेर काम गरिरहेका कुँवर, शर्मा, पौडेल र विक पछिल्लो समय भने पार्टीबाट कारबाहीमा पर्नुभएको छ । पार्टीलाई क्रान्तिकारिकरण गर्ने कि गैरक्रान्तिकारिकरण गर्ने भन्ने मुख्य विवादको विषयमा पार्टीको भन्दा भिन्न मत राखेकै कारण कारबाहीमा परेको उनीहरु बताउँछन् । पार्टीभित्र आफ्नो अन्तरसंघर्ष चलिरहेकाले नयाँ राजनीतिक दल र नयाँ पार्टीको बारेमा सोच नभए पनि राष्ट्रिय जागरण अभियान मार्फत देशमा भएका व्यथितिको बारेमा आवाज उठाई रहेको उनीहरुको भनाई छ । देशमा सम्वृद्धि ल्याउनका लागि सबैले सच्चाई र सौन्दर्यको राजनीति गर्नुपर्ने कुँवर बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *