फाइल तस्बिर
डम्मर बुढा मगर, बागलुङ
नेपालीको महान पर्व सम्मुखमा छ । यो बेला सबैलाई राम्रो लाउने, मिठो खाने रहर हुन्छ । घर–घरमा जमरा कानमा सिउरिनका लागि तयार हुँदैछन् ।
कोरोना कहरका बीच पनि नागरिक दसैं मनाउने तयारीमा छन् । घर रंगाउनेदेखि नयाँ कपडा र मिठा–मिठा परिकारको जोहो समेत गरिँदैछ । परदेशदेखि घरदेशमै भएकाहरु पनि गाउँ फर्कने क्रम जारी छ । तर, ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ भूजीखोलाका बाढी पहिरो पीडितलाई भने दसैंको रौनकले कत्ति पनि छोएको छैन । बरु उनीहरुलाई बाढी पहिरोको कहर र आप्mनै कथा ब्यथाले सताई रहेको छ । विहान बेलुका कसरी छाक टार्ने ? कसरी घर बनाउने ? कहाँ बनाउने ? गत भदौ १७ गते राती आएको बाढीले दर्जनौ नागरिकलाई घरबास बिहिन बनाएको छ भने परिवारका सदस्य र खुसी समेट लुटेको छ ।
ढोरपाटनमा अझै पनि कतिपय बाढी पीडित त्रिपाल मुनिको चिसो भुईमा रात बिताउन बाध्य छन् । उनीहरुको लागि रंग, रमाइलो र चाडपर्व फिक्का छ । अझै पनि उनीहरुलाई बाढीमा परेका परिवारका सदस्य र आफन्त फर्किएर आउँछन् कि भन्ने आशा छ । ढोरपाटन बाढीमा परेका १५ जना अझै वेपत्ता छन् । घरबार बिहिन बनेकालाई घर कसरी बनाउने भन्ने पिरलो छ । घरसँगै परिवारका सदस्य र आफन्त गुमाएकालाई घरको भन्दा पनि आफन्त गुमाएको पीडा छ ।
बाढीमा परि ४ जना आफन्त गुमाएका ढोरपाटन–९ का कुलबहादुर विकको आँखा अझै ओभाएका छैनन् । उनका जेठा छोरो नारायण विक, बुहारी टेकमाया विक, छोरी मनिषा विक र नातिनी तिर्सना बिकको बाढीमा परेर ज्यान गएको छ । ‘दैवेले छोरा, बुहारी, छोरी र नातिनीसँगै भए भरको सम्पत्ति पनि बगायो, बाँचेर पनि बाँचेको जस्तो भएको छैन,’ उहाँले गहभरी आँशु पार्दै भन्नुभयो ‘भएको जायजेथा पनि केही बाँकी रहेन, अहिले त जसोजासो छाक टारेका छौँ, पछि–पछि के खाएर बाँच्ने होला ।’ कुलबहादुर अहिले गाउँमाथिको पाखोबारीमा टहरो निर्माण गरे दिनरात बिताएको बताउनु हुन्छ ।
उहाँको घरमा अहिले ३ छोरी, २ छोरा र श्रीमति हुनुहुन्छ । नगरपालिका तथा विभिन्न संघ संस्थाले दिएको राहतबाट बिहान बेलुकीको छाक टारेको उहाँको भनाई छ । ‘सबैलाई दशै आएको छ, यो वर्ष हाम्रो लागि त दशा बनेर आयो, बस्ने घर छैन, खाने गासको पनि ठेगान छैन,’ बिकले भक्कानिदै भन्नुभयो, ‘बाढीले सबै लत्ता कपडा सबै बगायो, अहिले अरुले दिएको लगाउनु परेको, सानो छोरीले नयाँ लुगा किन्देउ बाउ भन्छे, पैसा पनि छैन, के ले किन्दिउँ ?’ विकको कान्छो छोरा अपाङ्ग छन् । टहरोमा बस्दा उनको स्याहार सुसारमा पनि समस्या भएको विकले बताउनुभयो । अपाङ्ग छोरा धौलागिरी बहिरा विद्यालय बागलुङमा पढाउन राखे पनि कोरानाले गर्दा घरमै छन् । कमाउने छोरो र काममा सगाउने बुहारी छोरीसहित नातिनी बाढीले बगाएपछि परिवारको जिविकामा समस्या थपिएको उहाँ बताउनुहुन्छ ।
बाढीमा आमासँगै घरबारी गुमाएकी खिमकुमारी पुनको ब्यथा पनि उस्तै छ । बाढीले आमालाई बगाए पछि खिमकुमारीको जिन्दगी अन्धकार जस्तै भएको छ । हरेक सुख, दुःखमा सँगसँगै साथ दिने आमा नै बाढीले बगाए पछि उनी अहिले आफन्तकोमा आश्रय लिएर बसिरहनु भएको छ । बाढीले आमासँगै घट्टबोटमा रहेको किराना पसल समेत बगाएको थियो । ‘मेरो केही छैन, बाढीले आमा पनि लग्यो घर पनि लग्यो, सबैभन्दा ठूलो आमा हो । आमानै लगेपछि सम्पत्तिको के कुरा गरौँ,’ उहाँले भन्नुभयो, ‘अहिले दाइ भाउजुसँग सहयोग लिएर बसेको छु ।’ बाढीका कारण कुलबहादुर र खिमकुमारी जस्ता दर्जनौ परिवार वडादसैंको आगमन सँगै थप चिन्तामा छन् । दसंैले गुमाएका परिवारका सदस्य र आफन्तहरुको अभाव अझ खड्किएको र घाउ बल्झिएको बाढी पहिरो पीडित बताउँछन् ।