दुईसय शैयाको अस्पताल बनाउन जग्गा खोज्दै धौलागिरी


–सुवास गौतम, बागलुङ

पछिल्लो समय धौलागिरी अस्पतालको मुहार फेरिएको छ । कहिले भवन अभाव त कहिले जनशक्ति अभाव खड्कदै आएको धौलागिरी अस्पताल बागलुङले अहिले जेनतेन आफ्ना सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आएको छ । तर अस्पताल स्तरउन्नती गरी उप–प्रादेशिक अस्पताल बनाउन जग्गाको अभाव भएको छ ।

गण्डकी प्रदेश सरकारले साविक धौलागिरी अञ्चल अस्पताललाई स्तरवृद्धि गर्नका लागि हाल धौलागिरी अस्पताल नामाकरण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक वजेटमा गण्डकी प्रदेश सरकारले प्रादेशिक अस्पताल पोखरा र उप–प्रार्देशिक अस्पताल बागलुङ बनाउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि रु. एक करोड बजेट विनियोजन भएर आएपछि कार्यान्वयनका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

सोही बमोजिम २५ रोपनी जग्गाबाट ५० शैयामा सञ्चालन रहेको धौलागिरी अस्पताल बागलुङलाई २०० शैयामा स्तरवृद्धि गर्नका लागि बजेट समेत विनियोजन भएर आएपनि अस्पताललाई थप २० रोपनी जग्गा आवश्यक भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । बुधबार भएको जग्गा व्यवस्थापन सम्बन्धी छलफलमा सहभागी संघीय सांसद मन कुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, कोपिला बोहोरा,संविधानसभाका सदस्य प्रकाश पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपाने तथा राजनैतिक दलका प्रतिनिधिहरुले अस्पतालले भविश्यमा राम्रो सेवा दिनका लागि तत्कालै थप जग्गा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

धौलागिरी अस्पतालको पूर्वतर्फ रहेको फ्युचर ब्राइटर बोर्डिङ, हुलाक कार्यालयको जग्गा र घरेलुको जग्गा व्यवस्थापन गर्न सकेमा अस्पताललाई जग्गाको अभाव नहुँने छलफलमा सहभागीहरुले बताएका थिए । छलफलमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. राम बहादुर के.सीले अस्पताल निर्माणका लागि आवश्यक पूर्वाधार र जनशक्ति र प्रदेश सरकारको योजनाको विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले अस्पतालको प्रगती तथा वर्तमान अवस्थाको जानकारी गराउनुभएको थियो ।

जग्गा खोज समिति गठन

बुधबार सम्पन्न सरोकारवालाको भेलाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोज समिति गठन गरेको छ । समितिमा जिल्ला प्रशासनको अधिकृत स्तरको कर्मचारी, बागलुङ नगरपालिका–२ वडा अध्यक्ष जीवन आचार्य, समाजसेवी जगदिशचन्द्र उपाध्याय र देव बहादुर श्रेष्ठ रहनुभएको छ । समितिले एक महिना भित्र विकल्प सहितको प्रतिवेदन अस्पताललाई पेश गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *