‘आदर्श विशेष सम्मान’ सपुत र सिर्जनशील पुरस्कार मुस्ताङका थकालीलाई प्रदान गर्ने घोषणा

आदर्श अनलाइन,बागलुङ

यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार उक्त सम्मान तथा पुरस्कारको घोषणा गरिएको हो ।

आदर्श सञ्चारले प्रदान गर्ने ‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई नगद २५ हजार रुपैयाँ राशी सहितको छ भने आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशीको हो । उक्त सम्मान तथा पुरस्कार निकट समयमै विशेष समारोहका बीच प्रदान गरिने आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्मिएका सपुतले जीवन संर्घषको सुरुवाती समयमा आदर्श सञ्चारकै प्रकाशन धौलागिरी जागरण दैनिकमा संवाददाताको रुपमा काम गर्नुभएको थियो । संस्था स्थापनाको सुरुवाती अवस्थामा जोडिएर महत्वपूर्ण भुमिका निर्वाह गरी पछिल्लो समय पुराना तथा आधुनिक पुस्ताको भावनालाई प्रतिबिम्बित गर्ने खालका कालजयी नेपाली मौलिक गीत संगीत सिर्जना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुन सफल भएकाले गायक सपुतलाई नगद २५ हजार सहित ‘आदर्श विशेष सम्मान’ प्रदान गर्ने निर्णय गरिएको आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले बताउनुभयो । गृह जिल्लामा उच्च शिक्षा अध्ययनका क्रममा आदर्श सञ्चारका साथै धौलागिरी एफएममा काम गर्नुभएका सपुतका ‘बोल माया’, ‘गलबन्दी’ ‘बदला बरिलै’, ‘फुटेका चुरा’ जस्ता मौलिक गीत चर्चाको चूलीमा छ ।

आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशकी सांसद तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक प्रभा कोइरालालाई प्रदान गरिएको थियो । धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ति (बागलुङ)लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्धय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्ष्य कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । यो कोषलाई आगामी वर्ष सम्म थप ५० हजार थप गरी बृद्धि गर्ने सिर्जनशील पत्रकारिता पुरस्कार कोषका संस्थापक सन्तोष क्षत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *