बागलुङमा कोभिड-१९ फुटबलः रिभरबिच बेनीले जित्यो उपाधि

आदर्श अनलाइन,बागलुङ

जिल्ला सदरमुकाममा आयोजित कोभिड–१९ कप फुटबल प्रतियोगिताको उपाधि रिभरबिच रेष्टुरेन्ट बेनी म्याग्दीले जितेको छ ।

फाइभ ए साइड प्रतियोगिताको सोमवार बाङ्गेचौर खेलमैदानमा भएको अन्तिम फाइनल खेलमा रिभरबिचले ३–० गोल अन्तरले आयोजक पावर फिटनेश क्लब बागलुङलाई पराजित गर्दै उपाधि चुमेको छ ।

फाइनल खेल प्रतिस्पर्धात्मक बने पनि आयोजक क्लबका तर्फबाट कुनै गोल हुन सकेन । रिभरसाइडको जितमा कमल थापाले दुई गोल र रोशन लामिछानेले एक गोलको योगदान गरे । पुरस्कृत बिजयी प्रतियोगीलाई चिल्डेन लाइफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले पुरस्कार बितरण गर्नुभयो । उपाधी बिजेता बनेको रिभरबिचले खसी, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको आयोजक पावर फिटनेश क्लबले १० केजी कुखुराको भाले, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा रिभरबीचका कमल थापा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए भने उत्कृष्ट गोलकिपरको उपाधि रञ्जन खत्रीले प्राप्त गरे ।

उपाधि ग्रहण पछि रिभरबिच रेष्टुरेन्ट बेनी म्याग्दीका खेलाडी ।

पावर फिटनेस क्लब बागलुङको आयोजनामा भएको प्रतियोगितामा बागलुङ, पर्वत र म्याग्दीका गरी १९ समूहको सहभागिता थियो । पुरस्कार बितरण समारोहमा बोल्दै चिल्डेन लाइफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले कोरोना संकटको लामो अवधी पश्चात आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रमा नयाँ उत्साह पैदा गरेको बताउनुभयो ।

गत वर्षको चैत्रमा कोरोना भयावह सुरु भए सँगै ठप्प भएको बागलुङको खेलकुद क्षेत्रमा प्रतियोगिता पछि अब थप चहल पहल सुरु हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताउनुभयो । यसले खेल क्षेत्र लामो समय स्थगित रहँदा खेलाडी उत्पादनमा समेत समस्या भएकोमा अब त्यो समस्या नरहने बताउनुभयो ।

पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको संचालन सुरेश सुनारले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *